सुनसरी /विराटनगर महानगरपालिका–१ मा एक युवाले दुई प्रहरी र एक सुधारगृहका कर्मचारीमाथि छुरा प्रहार गर्दा तीन जना घाइते भएका छन्। 

घटनापछि केही समय उक्त क्षेत्र तनावग्रस्त बनेको थियो भने युवालाई नियन्त्रणमा लिन प्रहरीलाई करिब एक घण्टा संघर्ष गर्नुपरेको प्रहरीले जनाएको छ।

आइतबार दिनको करिब ३:३० बजेको मुक्त घटना घटेको हो। मोरङ प्रहरीका अनुसार विराटनगर–१ मा मोहन भट्टराईको घरमा डेरा गरी बस्ने २९ वर्षीय रबिन कार्कीले आइतबार दिउँसो आफ्नै कोठामा लुकाएर राखेको छुरा प्रयोग गरी प्रहरी र सुधारगृहका कर्मचारीमाथि आक्रमण गरेका हुन्।

कार्की लामो समयदेखि लागूऔषध दुर्व्यसनमा संलग्न रहेको तथा उनको मानसिक अवस्था पनि असन्तुलित जस्तो देखिएकाले उनकी आमाले उनलाई उपचार तथा सुधारका लागि ललितपुरको भैंसीपाटीस्थित साथीभाइ सुधार गृहमा पठाउने तयारी गरेकी थिइन्। 

सोही प्रयोजनका लागि सुधारगृहका कर्मचारी सन्तोष सापकोटालाई विराटनगर बोलाइएको थियो। तर आफूलाई सुधार गृहमा लैजान लागिएको जानकारी पाएपछि कार्कीले जान अस्वीकार गर्दै कोठाको ढोका बन्द गरेका थिए। 

उनले आत्महत्या गर्ने धम्कीसमेत दिएपछि परिवारले प्रहरीलाई खबर गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडाल (मिश्र)ले जानकारी दिइन्।

प्रहरी टोली घटनास्थल पुगेपछि कार्कीलाई सम्झाइबुझाइ गरी नियन्त्रणमा लिने प्रयास गरिएको थियो। 

तर नियन्त्रणमा लिने क्रममा उनले प्रहरी सहायक निरीक्षक भोजराज रेग्मी र प्रहरी जवान हिमाल घिमिरेको टाउकोमा छुरा प्रहार गरेका थिए। त्यस्तै, सुधारगृहका कर्मचारी सन्तोष सापकोटामाथि पनि उनले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ।

घटनापछि विराटनगरस्थित अनुकरण मार्ग क्षेत्र केही समय तनावग्रस्त बनेको थियो। कार्कीलाई नियन्त्रणमा लिन सुरुआती प्रयास असफल भएपछि थप प्रहरी परिचालन गरिएको थियो। डीएसपी मिश्रका अनुसार करिब ६० जना प्रहरी जवान घटनास्थलमा खटिएका थिए।

लागूऔषधको प्रभावमा रहेका कारण कार्की अत्यन्त आक्रामक बनेको र नियन्त्रणमा लिन कठिन भएको स्थानीयवासी तथा प्रहरीको भनाइ छ। अन्ततः प्रहरी, स्थानीय बासिन्दा र छिमेकीहरूको सहयोगमा करिब एक घण्टापछि ढोका फोडेर उनलाई नियन्त्रणमा लिइएको थियो।

घटनापछि घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ। कार्कीलाई नियन्त्रणमा लिएर मोरङ प्रहरीको हिरासतमा राखिएको छ। उनीविरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।