सुनसरी, आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहयोग तथा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशको आयोजनामा ‘चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया-२०८३’ कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम आइतबार सुनसरीको झुम्कास्थित म्याजिक सिनेमा हलको सभाहलमा भव्य रूपमा सम्पन्न भएको हो।

कार्यक्रममा नेपाली चलचित्र क्षेत्रमार्फत कोशी प्रदेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान पुर्‍याएका चलचित्रकर्मीहरू तथा पत्रकारहरुलाई सम्मान गरिएको छ। 

महासंघका अध्यक्ष अरुणकुमार प्रधानले कोशी प्रदेशमा चलचित्र तथा कलाकारिता क्षेत्रमा योगदान पुर्‍याउने चलचित्रकर्मीहरुको सम्मानलाई आगामी दिनमा पनि निरन्तरता दिने योजना रहेको जानकारी दिए।

कार्यक्रममा चलचित्र 'उनको स्वीटर'का अभिनेता विपिन कार्कीलाई विशेष सम्मान प्रदान गरिएको थियो। साथै कोशी प्रदेशभर सक्रिय विभिन्न चलचित्रकर्मी तथा चलचित्र पत्रकार संघ नेपाल, कोशी प्रदेश र विभिन्न शाखाका वर्तमान तथा निवर्तमान अध्यक्षहरुलाई सम्मान गरिएको छ।

विशेष सम्मान ग्रहण गर्दै अभिनेता विपिन कार्कीले आफ्नो अभिनय यात्रामा जन्मभूमि कोशी प्रदेशबाट प्राप्त सम्मान सबैभन्दा आत्मीय र प्रेरणादायी भएको बताए।

उनले चलचित्र ‘उनको स्वीटर’ पाँचथरका विभिन्न रमणीय स्थानहरूमा छायांकन गरिएको उल्लेख गर्दै उक्त चलचित्रले पाँचथरसहित पूर्वका पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसारमा उल्लेखनीय योगदान पुर्‍याएको बताए।

"राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा धेरै सम्मान पाएको छु, तर आफू जन्मिएको, हुर्किएको भूमिबाट प्राप्त सम्मानको महत्व बेग्लै हुन्छ," उनले भने, "पूर्वका पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धनमा आफ्नो अभिनयमार्फत सधैं योगदान दिइरहनेछु।"

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले पूर्वका कलाकारहरूको योगदानको प्रशंसा गर्दै यस्ता सम्मानले कलाकारहरूलाई थप ऊर्जा र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे।

उनले कोशी प्रदेशका इलाम, ताप्लेजुङ, पाँचथर, कोशीटप्पु, भेडेटार, टेम्के मयुङ, लालीगुराँसको राजधानी तेह्रथुमलगायतका पर्यटकीय क्षेत्र चलचित्र र म्युजिक भिडियोमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनिन थालेको उल्लेख गर्दै आगामी दिनमा पनि प्रदेश सरकारले चलचित्र क्षेत्रसँग सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

साथै चलचित्र निर्माता, निर्देशक तथा छायाङ्कनकर्मीलाई प्रदेशका प्राकृतिक तथा पर्यटकीय सम्पदालाई चलचित्रमार्फत अझ व्यापक रूपमा प्रवर्द्धन गर्न आग्रह गरे।

कार्यक्रममा लेखक तथा चलचित्रकर्मी गोपाल देवानले कोशी प्रदेश चलचित्रकर्मी महासंघले अघि सारेको नीति तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा प्रस्तुत अवधारणाले नीतिगत रूपमा मूर्त रूप लिने विश्वास व्यक्त गरे। उनले कुनै पनि कार्य नीति, पारदर्शिता र इमान्दारिताका साथ अघि बढ्नुपर्नेमा जोड दिए।

देवानले पूर्वाञ्चलमा चलचित्र निर्माणको इतिहास, प्रारम्भिक चलचित्र तथा म्युजिक भिडियो निर्माण, त्यसबेलाका चुनौती र कोशी प्रदेशलाई चलचित्र छायाङ्कनको केन्द्रका रूपमा स्थापित गर्न योगदान पुर्‍याउने अग्रज चलचित्रकर्मीहरूको स्मरण गर्दै उनीहरूको योगदान सधैं सम्मान योग्य रहने बताए।

कार्यक्रममा कलाकार विपिन कार्की सहित भीम लामा, पर्शुराम चौधरी, गोपाल देवान, नवीन मेन्याङ्बो, लाखमान योन्जन, रबिन श्रेष्ठ, सुरेन्द्र भुजेल, प्रकाश सुब्बा, सागर केरुङ, माधव केसी, रेखा लिम्बू, सुवास योन्जन, गंगा गौतम, पुष्प श्रेष्ठ, नगेन्द्र राई, झोटन  मेहेता लगायतलाई सम्मान गरिएको थियो।

यसैगरी पत्रकारिताबाट चलचित्र क्षेत्रमा योगदान पुर्याएकोमा चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेशका अध्यक्ष विरेन्द्र शाह, निवर्तमान अध्यक्ष सन्जु राई सुमित्रा राई, सुनसरी शाखा अध्यक्ष सुबास संकल्प श्रेष्ठ, मोरङ अध्यक्ष प्रेम देवान, सुनसरी निवर्तमान अध्यक्ष विनोद विश्वकर्मालाई कार्यक्रममा सम्मान गरिएको छ।