विराटनगर, विराटनगर महानगरपालिका–१३ स्थित खार्की बाबा मन्दिर परिसरभित्र रहेको पुजारी निवासमा चोरी भएको छ।
मंगलबार राति करिब १ बजे चार जनाको समूहमा आएका व्यक्तिहरूले पुजारी परिवारलाई धम्क्याएर नगद तथा मोबाइल फोन लुटेर फरार भएका हुन्।
पीडितका अनुसार घटनाका बेला पुजारी शौचालय गएका थिए। सोही अवसरको फाइदा उठाउँदै घरमा प्रवेश गरेका चार जनाले पुजारीकी श्रीमती सतीदेवी शाहको मुख थुनेर चक्कु देखाउँदै करिब २५ हजार रुपैयाँ नगद र दुई थान मोबाइल फोन लुटेका हुन्।
सतीदेवी शाहले आफूले उनीहरूलाई देखेपछि गाडीको चाबी लगायत केही सामान लुकाउन सफल भएको बताएकी छन्। उनका अनुसार लुटेराहरूले छोरीतर्फ संकेत गर्दै घटना बाहिर बताए ज्यान मार्ने धम्की दिएका थिए। त्यसपछि उनीहरू नगद र मोबाइल लिएर फरार भएका हुन्।
घटनापछि मन्दिर परिसर तथा आसपासका क्षेत्रमा त्रास फैलिएको स्थानीयवासीले बताएका छन्। स्थानीय युवा श्याम शाहका अनुसार राति नै प्रहरीलाई खबर गरिएको भए पनि प्रहरी बिहान करिब ६ बजे मात्र घटनास्थल पुगेको भन्दै प्रहरीको ढिलासुस्तीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
स्थानीयवासीका अनुसार पछिल्लो समय विराटनगरका विभिन्न क्षेत्रमा चोरी तथा डकैतीका घटना बढ्दै गएका छन्। जोगबनी सीमा नाका नजिक भएकाले भारततर्फबाट समूह बनाएर चोरी गर्न आउने गिरोह सक्रिय हुन सक्ने आशंका स्थानीयले गरेका छन्।
स्थानीयले सीमा क्षेत्र तथा संवेदनशील स्थानमा प्रहरी गस्ती बढाउन, निगरानी कडा बनाउन र यस्ता घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।



प्रतिक्रिया