सुनसरी, धरान उप-महानगरपालिका वडा नंबर १४ स्थित सेल्फी रोडमा बिहीबार मध्यराति चक्कु देखाएर लुटपाट गर्ने घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय धरानका इन्सपेक्टर बबिन राईका अनुसार धरान-१४ निवासी २३ वर्षीय देव बिसुङखे र ३० वर्षीय सन्तोष भुर्तेललाई पक्राउ गरेको र अन्यको खोजी तथा घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

प्रहरीका अनुसार बिहीबार राति करिब १२ बजे धरान-१४ को हात्तीसार क्याम्पस नजिकै रहेको सेल्फी रोडबाट क्याफे बन्द गरेर घर फर्किरहेका दुई युवालाई चारदेखि पाँच जनाको समूहले तरबारजस्तो चक्कु देखाएर धम्क्याउँदै लुटपाट गरेको थियो।

ज्यानको सुरक्षाका लागि पीडितहरूले आफूसँग रहेको नगद र मोबाइल फोन लुटेरालाई बुझाउन बाध्य भएको बताएका छन्। घटनामा करिब ७० देखि ८० हजार रुपैयाँ नगद, दुईवटा आइफोन र दुईवटा सामसुङ मोबाइल लुटिएको प्रहरीले जनाएको छ।

पीडितको उजुरीपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै धरान-१३ बाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिबाट प्राप्त सूचनाका आधारमा अर्का एक जनालाई पनि नियन्त्रणमा लिइएको इन्सपेक्टर राईले जानकारी दिए।

"तरबार जस्तो चक्कु देखाएर आइफोन, सामसुङ मोबाइल र नगद लुटिएको पाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ," प्रहरी स्रोतले जनाएको छ।

प्रहरीका अनुसार घटनामा अन्य व्यक्तिहरू पनि संलग्न रहेको आशंका गरिएको छ। फरार रहेका उनीहरूको खोजी कार्य तीव्र पारिएको तथा घटनाका सबै पक्षबारे थप अनुसन्धान भइरहेको इन्सपेक्टर राईले बताए।