धरान, धरान उप-महानगरपालिका क्षेत्रभित्र रहेका धार्मिक तथा पर्यटकीय गन्तव्यको संरक्षण, विकास तथा प्रवर्द्धनका लागि धरान–बराहक्षेत्र–रामधुनीलाई समेटेर धार्मिक पर्यटन सर्किट निर्माण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।
बृहत्तर बराहक्षेत्र विकास समितिको आयोजनामा आज (बुधबार) धरानमा आयोजित ‘धरान उपमहानगरपालिका क्षेत्रभित्र रहेका धार्मिक तथा पर्यटन क्षेत्रमा बृहत्तर बराहक्षेत्र विकास समितिको भूमिका र सम्भावना’ विषयक अन्तरक्रियामा सहभागीहरूले धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको एकीकृत विकासमार्फत पूर्वी नेपालको धार्मिक पर्यटनलाई नयाँ उचाइमा पुर्याउन सकिने धारणा व्यक्त गरेका हुन्।
कार्यक्रममा पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास बनेपाली, धरान–१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, समाजसेवी डा. राजेन्द्र शर्मा, शनि मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जुद्ध लोहानी तथा पर्यटन वर्ष २०८२ निर्देशक समितिका सदस्य बासुदेव बराललगायतले धरान, बराहक्षेत्र र रामधुनीलाई एउटै धार्मिक पर्यटन सर्किटका रूपमा विकास गरी तीर्थयात्री तथा पर्यटकको बसाइ लम्ब्याउन आवश्यक योजना अघि बढाउनुपर्ने सुझाव दिएका थिए।
समितिका कार्यकारी निर्देशक अभिजाल विष्टले धरान, बराहक्षेत्र, भेडेटार तथा आसपासका धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रलाई एकीकृत रूपमा विकास गरी धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले अन्तरक्रिया आयोजना गरिएको जानकारी दिएका छन्।
उनका अनुसार धार्मिक सम्पदाको संरक्षण, पूर्वाधार विकास, प्रचार-प्रसार तथा स्थानीय तहबीच समन्वयका माध्यमबाट धार्मिक पर्यटनलाई आर्थिक समृद्धिसँग जोड्ने लक्ष्य समितिले लिएको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा धरान उप-महानगरपालिकाका प्रमुख आइन्द्रविक्रम बेघाले धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास स्थानीय, प्रदेश र सङ्घीय सरकारबीचको सहकार्यबाट मात्र सम्भव हुने बताए। उनले धरानका धार्मिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा उप-महानगरपालिका आवश्यक समन्वय र सहयोग गर्न प्रतिबद्ध रहेको उल्लेख गरे।
समितिका सदस्य प्रह्लाद भट्टराईले समितिका उद्देश्य, कार्यक्षेत्र तथा आगामी योजनाबारे जानकारी गराउँदै बराहक्षेत्र क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिने बताए।
यसैबीच, बृहत्तर बराहक्षेत्र विकास समितिले आफ्नो गतिविधिलाई प्रभावकारी बनाउन धनकुटाको भेडेटारमा सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ।
समितिका कार्यकारी निर्देशक विष्टका अनुसार असार २२ गते साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राई, सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राई तथा समितिका अध्यक्ष प्रकाश बस्नेतले संयुक्त रूपमा उक्त कार्यालयको उद्घाटन गरेका थिए। धरानमा समेत सम्पर्क कार्यालय स्थापना गरी समितिका गतिविधि विस्तार गरिएको उनले जानकारी दिए।
समितिले उदयपुर, सुनसरी र धनकुटा जिल्लामा पर्ने बराहक्षेत्र धाम तथा आसपासका स्थानीय तहलाई कार्यक्षेत्र बनाई धार्मिक पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। चतरा, बराहक्षेत्र, धरान र भेडेटारलगायत क्षेत्रबीच समन्वय, प्रचार-प्रसार तथा पर्यटन पूर्वाधार विकासलाई थप प्रभावकारी बनाउने उद्देश्यले सम्पर्क कार्यालय स्थापना गरिएको समितिको भनाइ छ।
समितिका पदाधिकारीहरूले धार्मिक पर्यटनको एकीकृत विकास, तीर्थयात्रीको सुविधामा विस्तार, स्थानीय तहसँगको सहकार्य तथा पर्यटन पूर्वाधार निर्माणका कार्यक्रमलाई आगामी दिनमा थप तीव्रता दिइने बताएका छन्।



प्रतिक्रिया