धरान, लामो समयदेखि नेतृत्वविहीन रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपी प्रतिष्ठान), धरानले नयाँ उपकुलपति पाएको छ।
सरकारले खुला प्रतिस्पर्धा तथा छनोट समितिको सिफारिसका आधारमा प्रतिष्ठानकी वरिष्ठ चिकित्सक तथा प्याथोलोजी विभागकी प्राध्यापक डा. स्मृति कार्कीलाई उपकुलपतिमा नियुक्त गरेको हो।
सरकारले बिहीबार डा. कार्कीलाई उपकुलपतिमा नियुक्त गरेको निर्णय सार्वजनिक गरेको हो। उनी प्रतिष्ठान स्थापना भएयता उपकुलपति बन्ने पहिलो महिला हुन्। यस नियुक्तिलाई प्रतिष्ठानको इतिहासमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
विराटनगरमा जन्मिएकी डा. कार्की लामो समयदेखि बीपी प्रतिष्ठानमा कार्यरत छन्। उनी प्याथोलोजी विभागकी प्राध्यापक हुनुका साथै यसअघि प्रतिष्ठानको कार्यकारी परिषद् सदस्यका रूपमा समेत जिम्मेवारी निर्वाह गरिसकेकी छन्।
प्रतिष्ठानको शैक्षिक, प्रशासनिक तथा स्वास्थ्य सेवा क्षेत्रमा उनको लामो अनुभव रहेको बताइन्छ।उपकुलपति पद लामो समयदेखि रिक्त रहेपछि प्रतिष्ठानको प्रशासनिक तथा नीतिगत निर्णय प्रक्रियामा चुनौती देखिँदै आएको थियो।
नयाँ नेतृत्व नियुक्त भएसँगै प्रतिष्ठानले स्थायी नेतृत्व पाएको छ भने सेवा प्रवाह, शैक्षिक गतिविधि र संस्थागत सुधारले गति लिने अपेक्षा गरिएको छ।
यस पटक उपकुलपतिको छनोट खुला प्रतिस्पर्धा, योग्यता र पारदर्शी प्रक्रियामार्फत गरिएको भन्दै स्वास्थ्य क्षेत्र तथा प्रतिष्ठानसँग सम्बन्धित धेरै व्यक्तिहरूले सरकारको निर्णयको स्वागत गरेका छन्।
लामो समयदेखि विभिन्न विवाद र नेतृत्व संकटबाट गुज्रिएको प्रतिष्ठानमा योग्य र निष्पक्ष नेतृत्व चयन भएको भन्दै सामाजिक सञ्जालमा समेत सकारात्मक प्रतिक्रिया आइरहेका छन्।
प्रतिष्ठानले पहिलो पटक महिला उपकुलपति पाएको घटनालाई लैङ्गिक समावेशिता र संस्थागत नेतृत्वको दृष्टिले पनि ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।
अब डा. कार्कीको नेतृत्वमा प्रतिष्ठानले विगतका समस्या समाधान गर्दै स्वास्थ्य सेवा, चिकित्सा शिक्षा तथा अनुसन्धानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।



प्रतिक्रिया