झापा, झापाको दमकमा छुरा प्रहारबाट एक भारतीय नागरिकको मृत्यु भएको छ।

घटनामा संलग्न आरोपी फरार रहेकाले उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दमक नगरपालिका–२ स्थित हिमाली माध्यमिक विद्यालय नजिक भारतको लखनउ घर भएका करिब ३५ वर्षीय साहिल कान्त र सोही स्थानमा बस्दै आएका मोहम्मद सोनु भनिने सहवाज हुसेनबीच विवाद भएको थियो। विवादका क्रममा सहवाजले साहिलको घाँटीमा छुरा प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए।

घटनाको जानकारी शनिबार बिहान करिब ५:३० बजे प्रहरीलाई प्राप्त भएपछि इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोली घटनास्थल पुगेको थियो। गम्भीर घाइते साहिललाई तत्काल दमक अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा बिहान करिब ६:३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रारम्भिक अनुसन्धानअनुसार दुवै जना भारतबाट आएर दमकस्थित एनएमसी डेरीमा सफ्टवेयर इन्जिनियरका रूपमा कार्यरत थिए। घटनाअघि उनीहरूले मादक पदार्थ सेवन गरेको र त्यसपछि सामान्य विवाद चर्किँदा छुरा प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

स्थानीयका अनुसार बिहान करिब ५ बजे ठूलो आवाज सुनेपछि घरधनी बाहिर निस्कँदा साहिल कान्त रगताम्य अवस्थामा फेला परेका थिए। त्यसपछि प्रहरीलाई खबर गरिएको थियो।

घटनापछि फरार रहेका आरोपी सहवाज हुसेनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।