धरान, धरान उपमहानगरपालिका–१८ क्षेत्रमा अनुगमनका क्रममा १३ वटा फार्मेसी तथा मेडिकल सिलबन्दी गरिएको छ।
औषधि विभागले शुक्रबार गरेको अनुगमनको क्रममा ती फार्मेसी तथा मेडिकल सिलबन्दी गरिएको हो।
औषधि व्यवस्था विभागले केही औषधि व्यवसायीलाई पक्राउ गरी जिल्ला अदालतमा मुद्दा दायर गरेपछि धरान क्षेत्रमा फार्मेसी तथा मेडिकलहरूको अनुगमनलाई तीव्र बनाएको हो।
अनुगमनका क्रममा अधिकांश मेडिकलमा फार्मासिस्ट कार्यरत भए पनि आवश्यक सञ्चालन अनुमति, इजाजतपत्र (लाइसेन्स) तथा अन्य कानुनी कागजात पूरा नभेटिएको औषधि व्यवस्था विभागका अधिकृत छोटो वासशमीले जानकारी दिए।
उनका अनुसार केही पसलका सञ्चालकलाई पटक–पटक सम्पर्क गर्दा पनि उपस्थित नभएकाले ती फार्मेसी तथा मेडिकल सिलबन्दी गरिएको हो।
अधिकृत वासशमीका अनुसार सिलबन्दी गरिएका व्यवसायीहरूले आवश्यक सम्पूर्ण कागजातसहित सोमबारभित्र विराटनगरस्थित औषधि व्यवस्था विभागको कार्यालयमा उपस्थित हुनुपर्नेछ।
विभागले औषधि ऐन, २०३५ तथा प्रचलित कानुनी व्यवस्था अनुसार कसुरको प्रकृतिअनुसार जरिवाना तथा निश्चित अवधिसम्म औषधि व्यवसाय सञ्चालनमा रोक लगाउने प्रक्रिया अघि बढाइने जनाएको छ।अनुगमनका क्रममा ‘तन्दुरी भुजालय’ लेखिएको सटरभित्रबाट समेत औषधि बिक्री–वितरण भइरहेको भेटिएको थियो।
उक्त पसलको पछाडिको कोठाबाट अवैध रूपमा लागूऔषधजन्य सामग्री, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ओपीडी कार्ड तथा स्वास्थ्य बीमा कार्ड ठूलो परिमाणमा बरामद भएको औषधि व्यवस्था विभागका अधिकृत एलन खड्काले जानकारी दिए। बरामद सामग्रीबारे थप अनुसन्धान भइरहेको उनले बताए।
विभागले करिब तीन महिनाअघि गरेको अनुगमनमा पनि नवीकरण नगरी तथा आवश्यक कागजातबिना सञ्चालन भइरहेका केही मेडिकल फेला परेका थिए। त्यसबेला सचेत गराइए पनि केही व्यवसायीले अटेर गरेकाले पुनः कारबाही गर्नुपरेको विभागको भनाइ छ।
विभागका अनुसार अघिल्लो कारबाहीपछि केही फार्मेसीले कानुनी प्रक्रिया पूरा गरी सञ्चालनमा आए पनि केही व्यवसाय भने अझै लुकिछिपी सञ्चालन भइरहेको पाइएको छ। यस्ता अवैध गतिविधिमाथि निरन्तर निगरानी र कारबाही जारी रहने विभागले जनाएको छ।



प्रतिक्रिया