धरान, डा. स्मृति कार्कीले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै औपचारिक रूपमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको पदभार ग्रहण गरेकी छन्।

प्रतिष्ठान स्थापना भएदेखि पहिलो पटक महिला उपकुलपति नियुक्त भएपछि उनले साँझ करिब ५ बजे पदभार सम्हालेकी हुन्।

प्याथोलोजी विभागकी प्राध्यापकसमेत रहेकी डा. कार्कीले पदभार ग्रहणपछि प्रतिष्ठानको सुधारलाई आफ्नो पहिलो प्राथमिकता हुने बताइन्। विद्यार्थी, कर्मचारी, चिकित्सक तथा सम्पूर्ण सरोकारवालासँग सहकार्य गर्दै निष्पक्ष, पारदर्शी र परिणाममुखी ढंगले काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरिन्।

Polish_20260714_130135786उनका अनुसार मंगलबार सरोकारवालासँग छलफल गरी एक साताभित्र नयाँ कार्यसमिति गठन गरेर नियमित रूपमा सुधारका काम अघि बढाइनेछ। बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने, प्रतिष्ठानमा देखिएका समस्या तथा कमजोरी क्रमिक रूपमा समाधान गर्ने र सेवाप्रवाहलाई प्रभावकारी बनाउने उनको योजना छ।

डा. कार्कीले आफू प्रतिष्ठानमा करिब २२ वर्षदेखि अध्ययन, अध्यापन र सेवामा आबद्ध रहेकाले संस्थाभित्रका समस्या र सुधार गर्नुपर्ने पक्षबारे राम्रोसँग जानकार रहेको बताइन्। सबै समस्या एकैपटक समाधान गर्न सम्भव नभए पनि स्वास्थ्यमन्त्री र प्रधानमन्त्रीसँग समन्वय गरी आवश्यक विषय उठान गर्दै प्रतिष्ठानको विकास र सुधारका लागि निरन्तर पहल गर्ने उनको भनाइ थियो।

उनले प्रतिष्ठानका लागि आवश्यक एमआरआई मेसिन ल्याउने प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै स्वास्थ्य सेवा विस्तार, पूर्वाधार सुदृढीकरण तथा प्रशासनिक र व्यवस्थापकीय सुधारलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाइन्।