खोटाङ, खोटाङ जिल्ला कारागारमा कैद सजाय भोगिरहेका एक कैदीको रिहाइ हुन एक दिनअघि बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा साकेला गाउँपालिका–४ मात्तिमका २९ वर्षीय निशान राई रहेका छन्। उनी बेहोस अवस्थामा फेला परेपछि तत्काल जिल्ला अस्पताल खोटाङ लगिएको थियो। तर चिकित्सकले बिहान १ः३० बजे उनलाई मृत घोषणा गरेका हुन्।

कारागार प्रशासनका अनुसार मंगलबार राति खाना खाएर सुतेका राईले राति १२ः४५ बजे सुरु हुने विश्वकप फुटबल हेर्न आफूलाई उठाइदिन साथी कैदीहरूलाई आग्रह गरेका थिए। सोहीअनुसार राति करिब सवा १२ बजे उठाउन जाँदा उनी बेहोस अवस्थामा भेटिएका थिए।

बेहोस अवस्थामा फेला परेलगत्तै उनलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइए पनि बचाउन नसकिएको कारागार कार्यालयका सूचना अधिकारी कपिन्द्र कठायतले जानकारी दिए। उनका अनुसार राईको मृत्युको कारण हालसम्म खुल्न सकेको छैन।

कठायतका अनुसार मंगलबार कारागारभित्र सुँगुर काटेर सामूहिक रूपमा मासु–भात खाने कार्यक्रम आयोजना गरिएको थियो। राईका दाजु पनि सोही कारागारमा कैद भुक्तान गरिरहेकाले दुवै दाजुभाइले सँगै मासु–भात खाएर सुतेका थिए।

‘कारागारमा सुँगुर काटेर सामूहिक रूपमा खाने कार्यक्रम थियो। निशानका दाजु पनि यहीँ हुनुहुन्थ्यो। दुवैले सँगै खाना खानुभयो र सुत्नुभयो,’ कठायतले भने, ‘विश्वकप फुटबल हेर्न उठाउँदा बेहोस अवस्थामा भेटिएपछि तत्काल अस्पताल लगियो, तर चिकित्सकले मृत घोषणा गर्नुभयो।’

राई सवारी ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भई २०८० साउन १२ गतेदेखि कैद सजाय भुक्तान गरिरहेका थिए।

उनलाई दुई वर्षको कैद सजाय सुनाइएको थियो र आगामी साउन ११ गते रिहा हुने तयारीमा रहेका बेला उनको मृत्यु भएको हो।