धरान, धरान उपमहानगरपालिका–४, १३ र १४ नम्बर वडालाई जोड्ने सेउती खोलामाथि श्रमदानबाट निर्माण गरिएको ज्वानेटार फलामे पुल बिहीबार उद्घाटन गरिएको छ।
करिब ८० लाख रुपैयाँ लागतमा निर्माण भएको उक्त पुल सुनसरी क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ राईको अगुवाइमा निर्माण गरिएको हो। पुलको उद्घाटन सांसद साम्पाङले प्रमुख अतिथिका रूपमा र धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाको विशेष आतिथ्यमा रिबन काटेर गरेका हुन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद साम्पाङले लामो समयदेखि स्थानीयले पुलको माग गर्दै आए पनि निर्माण हुन नसकेको बताए। उनले दार्चुलामा निर्माण हुन लागेको पुलका लागि संकलित सहयोग रकममध्ये बाँकी रहेको रकमलाई स्थानीयको आवश्यकतालाई प्राथमिकता दिँदै ज्वानेटार फलामे पुल निर्माणमा प्रयोग गरिएको जानकारी दिए।
"वर्षौंदेखि पुल बनाउने कुरा मात्रैu भयो, तर काम हुन सकेन। स्थानीयको समस्या समाधान गर्न दार्चुला पुलको सहयोगबाट बचेको रकम यही पुलमा लगाएर निर्माण गरेका हौँ," उनले भने।
साम्पाङले आफूले गरेका कामलाई लिएर अनावश्यक आलोचना र विरोध हुने गरेको उल्लेख गर्दै आफूलाई बदनाम गर्न खोज्नेहरूले अन्ततः "खुट्टाको धुलो मात्र पाउने" टिप्पणी गरे।
कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाले नगरपालिकाले लामो समयदेखि समाधान गर्न नसकेको समस्या श्रमदान अभियानमार्फत समाधान भएको भन्दै यसको प्रशंसा गरे। उनले जनसहभागिताबाट पनि ठूला पूर्वाधार निर्माण सम्भव हुने उदाहरणका रूपमा यो पुललाई चित्रण गरे।
"यो पुलले वडा नं. ४, १३ र १४ का बासिन्दालाई सहज आवतजावतको सुविधा दिएको छ।
जनताको आवश्यकताअनुसार सबै मिलेर काम गर्दा विकास सम्भव हुन्छ भन्ने सन्देश पनि यसले दिएको छ," उनले भने। बेघाले श्रमदानबाट निर्माण भएका संरचनाहरू प्रशंसायोग्य रहेको उल्लेख गर्दै धरान तथा सुनसरी क्षेत्र नं. १ को विकासका लागि केन्द्र सरकारसँग आवश्यक पहल गर्न सांसद साम्पाङलाई आग्रह गरे।
जवाफमा सांसद साम्पाङले कार्यवाहक मेयर बेघाले धरानका साना–ठूला समस्यालाई नजिकबाट नियालेर काम गरिरहेको भन्दै प्रशंसा गरे। उनले बजेट व्यवस्थापन, समयमै निर्णय र समन्वयलाई प्रभावकारी बनाएर विकासका कामलाई अघि बढाउन सुझाव दिए।



प्रतिक्रिया