धरान, मदनकुमार चोङ्बाङद्वारा लिखित ‘नेपालको राजनीतिमा लिम्बु सहभागिता’ पुस्तक बिहीबार धरानस्थित चुम्लुङ भवनमा विमोचन गरिएको छ।

पुस्तकको विमोचन कोशी प्रदेशका प्रमुख परशुराम खापुङले गरेका छन्। 

पुस्तकमा नेपालको राजनीतिक इतिहासमा लिम्बु समुदायका प्रतिनिधिले पुर्‍याएको योगदान, राजनीतिक परिवर्तनमा उनीहरूको भूमिका तथा देशका लागि गरेको त्याग र सहभागितालाई समेटिएको लेखकले बताए।

विमोचन कार्यक्रममा बोल्दै प्रदेश प्रमुख खापुङले राजनीतिमा लिम्बु समुदायले अहिलेसम्म पुर्‍याएको योगदान र राजनीतिक परिवर्तनमा खेलेको भूमिकालाई दस्तावेजका रूपमा प्रस्तुत गर्ने पुस्तक महत्वपूर्ण रहेको बताए। 

उनले यस्ता पुस्तकले राजनीतिमा सक्रिय हुन चाहने नयाँ पुस्तालाई उत्साह र प्रेरणा प्रदान गर्ने उल्लेख गर्दै अन्य जाति तथा समुदायका राजनीतिक योगदानलाई समेत समेटेर यस्ता पुस्तक लेखिनुपर्नेमा जोड दिए।

पुस्तकका लेखक मदनकुमार चोङ्बाङले पुस्तक तयार गर्ने क्रममा विभिन्न राजनीतिक दलमा लामो समयदेखि सक्रिय विज्ञ, राजनीतिज्ञ तथा सम्बन्धित व्यक्तिहरूसँग छलफल र परामर्श गरी उनीहरूका विचार तथा अनुभवलाई समेटिएको बताए। 

पुस्तक प्रकाशनको क्रममा विभिन्न चुनौती र कठिनाइ सामना गर्नुपरे पनि नेपालको राजनीतिमा लिम्बु समुदायको सहभागिता कसरी र कस्तो रह्यो भन्ने विषयलाई दस्तावेजीकरण गर्ने उद्देश्यले आफूले निरन्तर मेहनत गरेको उनले बताए।

लेखकका अनुसार पुस्तकले भाषा, वर्ग र प्रजातन्त्रका क्षेत्रमा लिम्बु समुदायले राजनीतिमार्फत ल्याएको परिवर्तन र योगदानलाई समेत समेटेको छ।

कार्यक्रममा धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख आन्द्रविक्रम बेघा लिम्बु, डा. गोविन्द सुब्बा, मुक्सान म्यानाङ्बो, जेन्टल लावती, अमित थेबेलगायतको उपस्थिति थियो।