सुनसरी, सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा प्रहरीको गोली लागेर स्थानीय युवा ओमप्रकाश मेहताको मृत्यु भएको घटनाको विरोधमा स्थानीय युवाहरूले प्रदर्शन गरेका छन्।
बोलबम यात्राको तयारीका क्रममा दुई पक्षबीच विवाद भएपछि स्थिति नियन्त्रणमा लिन पुगेको प्रहरीले गोली चलाएको र सोही क्रममा मेहताको मृत्यु भएको स्थानीयको आरोप छ।
घटनापछि देवानगञ्ज, लौकही, इनरुवा लगायत आसपासका क्षेत्रमा युवाहरूले टायर बालेर नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका छन्।
प्रदर्शनका क्रममा केही स्थानमा तोडफोडसमेत भएपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीसँगै नेपाली सेना पनि परिचालन गरिएको छ भने सवारी आवागमनसमेत प्रभावित भएको छ।
घटनाको सत्यतथ्य छानबिनको माग गर्दै गृहमन्त्रीसमक्ष प्रतिवेदन बुझाइएको र घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति टोली खटाइएको बताइएको छ।
मेहताको मृत्युको विषयलाई लिएर स्थानीय युवाहरू प्रहरी प्रशासनप्रति आक्रोशित बनेका छन् भने क्षेत्रमा अझै तनावको अवस्था कायम रहेको छ।




प्रतिक्रिया