धरान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पदाधिकारी नियुक्तिको विषयलाई लिएर ‘द काउन्सिल अफ जेन्जी’ सुनसरीले विरोध प्रदर्शन गर्दै उपकुलपति र स्वास्थ्यमन्त्रीको राजीनामा माग गरेको छ।
बिहीबार ‘द काउन्सिल अफ जेन्जी’ सुनसरीका संयोजक नवीन राईको नेतृत्वमा गएको समूहले प्रतिष्ठानको उपकुलपति कार्यालयमा पुगेर निर्देशक, रेक्टर र रजिस्ट्रार नियुक्तिका लागि भएको भनिएको प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै विरोध गरेको हो।
जेन्जी समूहले प्रतिष्ठानमा लामो समयदेखि देखिँदै आएको बेथिति अन्त्य गर्न नयाँ सोच र कार्ययोजनासहितका पदाधिकारी आवश्यक रहेको अवस्थामा पुरानै व्यक्तिहरूलाई प्राथमिकता दिने गरी नाम चयन गरिएको आरोप लगाएको छ। यसरी पदाधिकारी छनोट गर्दा प्रतिष्ठानको अवस्थामा सुधार आउने औचित्य नरहेको उनीहरूको भनाइ छ।
विरोधमा सहभागीहरूले प्रतिष्ठानका उपकुलपति डा. स्मृति कार्कीमाथि समेत पदाधिकारी नियुक्तिमा आर्थिक चलखेल भएको हुनसक्ने आशंका व्यक्त गरेका छन्। उनीहरूले उपकुलपतिका श्रीमान् श्याम कार्कीको बैंक खाताबाट अपरिचित व्यक्तिको खातामा रकम स्थानान्तरण भएको देखिएको दाबी गर्दै उक्त रकम कुन प्रयोजनका लागि पठाइएको हो भन्ने विषयमा स्पष्ट पार्न माग गरेका छन्।
समूहका अनुसार उक्त रकमबारे प्रश्न गर्दा गाडीभाडासम्बन्धी खर्च भएको भन्दै विषय टार्न खोजिएको थियो। छलफलका क्रममा आफूहरूलाई ‘के चाहिएको हो?’ भन्ने प्रतिक्रिया दिँदै आर्थिक प्रलोभन दिन खोजिएकोसमेत उनीहरूले आरोप लगाएका छन्।
यता, पदाधिकारी नियुक्तिको विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको भूमिकामाथि पनि जेन्जी समूहले प्रश्न उठाएको छ। मन्त्री मेहताले आफू निकट व्यक्तिहरूको सुझावका आधारमा निर्देशक, रेक्टर र रजिस्ट्रारको नाम छनोट गर्न भूमिका खेलेको आरोप प्रदर्शनकारीहरूको छ।
पदाधिकारी नियुक्तिमा राजनीतिक हस्तक्षेप भएको आरोप लगाउँदै उनीहरूले प्रतिष्ठानजस्तो संवेदनशील स्वास्थ्य संस्थामा राजनीतिक भागबन्डा र चलखेल स्वीकार्य नहुने बताएका छन्।
स्वास्थ्यमन्त्री मेहताले आफ्नो पदको मर्यादाविपरीत काम गरेको र पदाधिकारी नियुक्तिको प्रक्रियामा पारदर्शिता नदेखिएको भन्दै प्रदर्शनकारीहरूले राजीनामाको माग गरेका छन्।
उनीहरूले मन्त्रीको गतिविधि भ्रष्टाचारसँग जोडिन सक्ने भन्दै त्यसबारे निष्पक्ष छानबिन हुनुपर्ने मागसमेत अघि सारेका छन्।
प्रदर्शनका क्रममा जेन्जी समूहले प्रतिष्ठानमा देखिँदै आएको बेथिति अन्त्य गर्न पारदर्शी र योग्य व्यक्तिलाई पदाधिकारीको जिम्मेवारी दिनुपर्नेमा जोड दिएको छ।
‘द काउन्सिल अफ जेन्जी’ सुनसरीका संयोजक नवीन राईले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन र धर्ना निरन्तर जारी राख्ने चेतावनी दिएका छन्। प्रतिष्ठानमा हुने नियुक्ति र निर्णय प्रक्रियामा पारदर्शिता कायम नभएसम्म आफूहरू निरन्तर खबरदारी गरिरहने उनको भनाइ छ।
यद्यपि प्रदर्शनकारीहरूले लगाएका आर्थिक लेनदेन, राजनीतिक हस्तक्षेप तथा नियुक्तिमा चलखेलसम्बन्धी आरोपबारे सम्बन्धित पक्षको आधिकारिक धारणा सार्वजनिक भएको छैन। आरोपको स्वतन्त्र पुष्टि हुन बाँकी छ।



प्रतिक्रिया