धरान, भोजपुर टेम्केमैयुङ छिनामखु सरोकार समाजको कार्यालय उद्घाटन तथा रक्तदान कार्यक्रम आज धरान–१५ स्थित श्यामचोकमा सम्पन्न भएको छ।
समाजले आफ्नो कार्यालय कार्यालय उद्घाटनसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा ५५ प्रिन्ट रगत संकलन भएको आयोजकले जनाएको छ।
रसुवामा बाढीका कारण प्रभावित तथा उपचाररत बिरामीलाई सहयोग पुर्याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको समाजले जनाएको छ। कार्यक्रममा स्थानीय तथा समाजका सदस्यसहित विभिन्न व्यक्तिहरूले रक्तदान गरेका हुन्।
समाजको कार्यालय उद्घाटन धरान उपमहानगरपालिका वडा नं. १५ का अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि नरेशकुमार इवारम र विशेष अतिथि नेपाल रेडक्रस सोसाइटी सुनसरीका सभापति उमेश थापाले संयुक्त रूपमा गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि इवारमले समाजको संस्थागत गतिविधिका लागि प्रधान कार्यालय उद्घाटन गर्नुका साथै सामाजिक सेवाको उद्देश्यअनुरूप रक्तदानजस्तो पुण्य कार्य गर्नु प्रशंसनीय भएको बताए।
उनले सामाजिक संस्थाहरूले समुदायको आवश्यकता पहिचान गरी मानवीय सेवामा सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
कार्यक्रमका सभापति तथा समाजका अध्यक्ष बलराम राईले आगामी दिनमा पनि समाजले सामाजिक सेवा, मानवीय सहयोग तथा समुदायसँग सम्बन्धित विभिन्न गतिविधिलाई निरन्तरता दिने जनाएका छन्।




प्रतिक्रिया