धरान, राष्ट्रिय आदिवासी जनजाति महिला नगर समन्वय परिषद् धरानको चौथो अधिवेशनले गीता राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

अधिवेशनबाट अध्यक्षमा गीता राई, उपाध्यक्षमा लक्ष्मी मगर, सचिवमा कोपिला मोक्तान, सहसचिवमा रोमकुमारी सुनुवार, कोषाध्यक्षमा रुसी प्रधान र सदस्यमा जानुका लिङ्खा चयन भएका छन्।

धरान–११ स्थित सुनुवार सेवा समाजको हलमा सोमबार सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो।

अधिवेशनले आदिवासी जनजाति महिलाको अधिकार, नेतृत्व विकास, सामाजिक सहभागिता तथा संस्थागत सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित नयाँ नेतृत्व चयन गरेको हो।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले आदिवासी जनजाति महिलाको सामाजिक, आर्थिक, सांस्कृतिक तथा राजनीतिक सशक्तीकरणका क्षेत्रमा सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

अधिवेशनले धरानमा रहेका विभिन्न आदिवासी जनजाति महिला संस्थाबीच समन्वय, सहकार्य र एकतालाई थप मजबुत बनाउँदै महिला अधिकार र समुदायको हितका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।