धरान, सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्यहर्साइमा गोली प्रहार हुँदा एक जना घाइते भएका छन्। 

शनिबार साँझ अज्ञात समूहले चलाएको गोली लागेर स्थानीय निरज यादव घाइते भएका हुन्।

वडाध्यक्ष सूर्यनारायण पालका अनुसार यादवमाथि गोली प्रहार भएपछि स्थानीयवासीले घटनामा संलग्न भएको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन्।

सुनसरी प्रहरीका डीएसपी चन्द्र खड्काले घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरिएको पुष्टि गरेका छन्। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गोली लागेर यादवको कम्मरमुनिको भाग तथा दाहिने तिघ्रामा चोट लागेको बताइएको छ। घाइते यादवको विराटनगरस्थित अस्पतालमा उपचार भइरहेको छ। विराटनगर प्रहरीले उनको अवस्था सामान्य रहेको जनाएको छ।

अस्पतालबाट यादवले आफूलाई १५–१६ जनाको समूहमा आएका व्यक्तिहरूले गोली प्रहार गरेको बताएका छन्। तीमध्ये चार–पाँच जनालाई आफूले चिनेको र बाँकी व्यक्तिलाई फोटो देखाएमा पहिचान गर्न सक्ने उनले बताएका छन्।

घटनापछि देवानगञ्ज क्षेत्रमा सुरक्षा चुनौती बढेको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्। पछिल्लो समय देवानगञ्ज र कप्तानगञ्ज क्षेत्रमा विवाद तथा झडपका घटना बढ्दै गएको स्थानीयको गुनासो छ।

घटनाको वास्तविक कारण, गोली प्रहारमा संलग्न व्यक्तिको पहिचान तथा घटनामा प्रयोग भएको हतियारलगायत विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।