धरान, धरान खेलकुद मञ्चले तेस्रो संस्करणको धरान खेलकुद अवार्ड आयोजना गर्ने भएको छ।
खेलकुद क्षेत्रमा सक्रिय खेलाडी, प्रशिक्षक तथा योगदान पुर्याउँदै आएका व्यक्तित्वलाई प्रोत्साहन गर्ने उद्देश्यले मञ्चले आगामी असोज १२ गते सोमबार अवार्ड कार्यक्रम आयोजना गर्न लागेको हो।
मञ्चले शनिबार धरानमा पत्रकार सम्मेलन गर्दै अवार्ड कार्यक्रमबारे जानकारी दिएको हो। मञ्चका अध्यक्ष किशोर राईका अनुसार यस वर्षको अवार्डलाई विगतका संस्करणभन्दा फरक, प्रभावकारी र खेलाडीमैत्री बनाउने प्रयास गरिएको छ।
अवार्डमा महिला उत्कृष्ट खेलाडी, पुरुष उत्कृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट पत्रकार लगायत ६ विधामा सम्मान तथा पुरस्कार प्रदान गरिने मञ्चले जनाएको छ।
यसपटक धरानका चर्चित १० खेलाडीमध्येबाट ‘धरान स्पोर्ट्स पब्लिक च्वाइस’ मार्फत उत्कृष्ट तीन खेलाडी छनोट गरिनेछ। उत्कृष्ट खेलाडी छनोटमा खेलप्रेमी तथा दर्शकको मतलाई समेत आधार बनाइने अध्यक्ष राईले बताए।
राईका अनुसार धरान खेलकुदको सहरका रूपमा परिचित रहेकाले यहाँका खेलाडीलाई प्रोत्साहन गर्दै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले अवार्डलाई निरन्तरता दिइएको हो। खेल क्षेत्रमा उदाउँदै गरेका नयाँ खेलाडीलाई खेलप्रति आकर्षित गराउँदै भविष्यमा समेत खेलकुदमै निरन्तर लाग्न प्रेरित गर्ने उद्देश्य रहेको उनले बताए।
उनले भने, “खेलाडीलाई पुरस्कार र सम्मान प्रदान गर्दैमा मात्र धरानको खेलकुद विकास सम्भव हुँदैन। खेलाडी, प्रशिक्षक, रेफ्री तथा प्राविधिक जनशक्तिलाई व्यावसायिक र आर्थिक रूपमा सक्षम बनाउन स्थानीय सरकारसँगै उद्योगी तथा व्यवसायीको सहकार्य आवश्यक छ।”
अध्यक्ष राईले स्थानीय तथा प्रदेश सरकारलाई खेल क्षेत्रमा लगानी बढाउन र खेलाडीलाई प्रोत्साहन गर्न आफूहरूले निरन्तर पहल गरिरहेको बताए। विगतका खेलाडीले भोगेका समस्या आगामी पुस्ताले भोग्न नपरोस् भन्ने उद्देश्यले खेलाडीका लागि अनुकूल वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए।
उनका अनुसार तेस्रो धरान खेलकुद अवार्डलाई केवल पुरस्कार वितरणमा सीमित नराखी धरानको खेलकुदलाई दीर्घकालीन रूपमा अघि बढाउने अभियानको एउटा महत्वपूर्ण खुड्किलोका रूपमा विकास गर्न खोजिएको छ।
अवार्डको तयारीसँगै मञ्चले खेलाडी, प्रशिक्षक, खेल संस्था, खेलप्रेमी तथा सञ्चारकर्मीलाई एउटै अभियानमा जोड्ने प्रयाससमेत अघि बढाएको जनाएको छ।



प्रतिक्रिया