धरान, चलचित्र 'पेन्सन पट्टा’ले पूर्वका हलहरूमा दर्शकको राम्रो साथ पाइरहेको छ। 

भदौ २६ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले धरानसहित पूर्वका विभिन्न हलमा उत्साहजनक व्यापार गरिरहेको निर्माण पक्षले जनाएको छ।

चलचित्रको दर्शक प्रतिक्रिया बुझ्न निर्देशक तथा निर्माता माओत्से गुरुङसहितको टोली पूर्वका विभिन्न हलमा पुगेको छ। 

बुधबार धरानस्थित फ्रेन्ड्स सिनेमामा हल अवलोकन गर्दै निर्माण टोलीले दर्शकसँग प्रत्यक्ष भेट गरी चलचित्रबारे प्रतिक्रिया लिएको हो।

दर्शकले चलचित्रलाई पारिवारिक कथावस्तु, लाहुरे परिवारको जीवन र पेन्सनसँग जोडिएका समस्यालाई प्रस्तुत गरेको भन्दै प्रतिक्रिया दिएका छन्। चलचित्र हेर्न १४–१५ वर्षका किशोरकिशोरीदेखि ९४ वर्षसम्मका वृद्धवृद्धा हलसम्म पुगेको निर्माण पक्षले जनाएको छ।

चलचित्रले दोस्रो सातामा चल्दा पनि दर्शकको माया अपार पाएको छ। 

चलचित्रले अहिलेसम्म ३ करोड ७२ लाख आम्दानी गरिसकेको छ भने यो चलचित्रले आफ्नो लगानी सहजै उठाउने देखिएको छ अहिलेसम्म चलचित्र पेन्सन पट्टाको टिकट बिक्रीका आधारमा करिब १ लाख जनाले टिकट खरिद गरेको देखिएको छ। 

निर्देशक गुरुङका अनुसार ‘पेन्सन पट्टा’ एउटा लाहुरे परिवारमा पेन्सनका कारण उत्पन्न हुने पारिवारिक तथा सामाजिक समस्यामा आधारित कथा हो। लाहुरे जीवनपछि प्राप्त हुने पेन्सनमा नाम नमिल्दा वा कागजी विवरणमा गडबडी हुँदा परिवारले भोग्नुपर्ने समस्यालाई चलचित्रमा प्रस्तुत गरिएको उनले बताए।

चलचित्रको कथा आफ्नै परिवारको अनुभवबाट प्रभावित रहेको गुरुङको भनाइ छ।

उनका बाजेको पेन्सन पट्टामा नाम नमिल्दा परिवारले भोग्नुपरेका समस्यालाई नजिकबाट देखेपछि त्यही अनुभवलाई कथाको आधार बनाएर चलचित्र निर्माण गरिएको उनले बताए। त्यसैले ‘पेन्सन पट्टा’ पारिवारिक अनुभव र लाहुरे जीवनसँग जोडिएको कथा भएको उनको भनाइ छ।

चलचित्रमा दयाहाङ राई मुख्य भूमिकामा छन् भने गौमाया गुरुङ नायिकाको भूमिकामा छिन्। त्यस्तै वेल्सन विक्रम राई, बुद्धि लामा, पशुपति राई र माउसे गुरुङलगायतका कलाकारको अभिनय रहेको छ।

चलचित्रको सुरुवात नै खोलाको किनारमा माछा मार्दै गरेको दृश्यबाट हुन्छ। त्यसपछि कथा विभिन्न लाहुरे परिवारको जीवन, उनीहरूले भोग्ने समस्या र पेन्सनसँग जोडिएका घटनाक्रमतर्फ अघि बढ्छ। चलचित्रको अन्त्य पनि खोलाको किनारमै हुने भएकाले सुरुदेखि अन्त्यसम्म एउटै भावनात्मक परिवेशलाई जोडिएको निर्देशक गुरुङले बताएका छन्।

धरानको फ्रेन्ड्स सिनेमामा चलचित्रले राम्रो दर्शक पाइरहेको छ। हाल चलचित्रले दैनिक चारदेखि पाँचवटासम्म शो पाइरहेको र ती शोमा दर्शकको उपस्थिति उत्साहजनक रहेको हल सञ्चालक तथा निर्माण पक्षको भनाइ छ।

चलचित्रको ‘पेन्सन पट्टा’ नाम आफैंमा दर्शक आकर्षित गर्ने एउटा कारण बनेको देखिएको छ। हलमा भेटिएका केही दर्शकले नाम सुनेरै चलचित्र हेर्न आएको बताएका छन्। कतिपयले कथावस्तु राम्रो रहेको प्रतिक्रिया दिएका छन् भने केही दर्शकले कथावस्तुभन्दा पनि चलचित्रको नामले आफूलाई हलसम्म तानेको बताएका छन्।

त्यस्तै, केही दर्शकले दयाहाङ राईको अभिनय र चलचित्रको पोस्टरले मात्रै पनि दर्शक आकर्षित गर्न सक्ने प्रतिक्रिया दिएका छन्। यसले चलचित्रप्रति दर्शकको चासोमा कलाकारको लोकप्रियता र प्रचार सामग्रीको समेत प्रभाव रहेको देखाएको छ।

निर्माण टोली अहिले पूर्वका विभिन्न हलमा पुगेर दर्शकको प्रत्यक्ष प्रतिक्रिया लिइरहेको छ।

निर्देशक गुरुङले चलचित्रलाई माया गरेर हलसम्म पुग्ने दर्शकप्रति आभार व्यक्त गर्दै प्राप्त प्रतिक्रियालाई आगामी कामका लागि महत्वपूर्ण सुझावका रूपमा लिएको बताएका छन्।