धरान, शिक्षक नियुक्तिको माग गर्दै धरानका दुई सामुदायिक विद्यालयका विद्यार्थीले सुरु गरेको आन्दोलन शुक्रबार पनि जारी रहेको छ।
धरान–११ स्थित ज्ञानोदय माध्यमिक विद्यालय र धरान–६ स्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीले शिक्षक नियुक्ति तत्काल गर्न माग गर्दै नगर प्रमुखको कार्यकक्षमा तालाबन्दी गरी आमरण अनसन जारी राखेका हुन्।
विद्यार्थीहरूले लामो समयदेखि विषयगत शिक्षकको अभाव हुँदा पढाइ प्रभावित भएको भन्दै पटक–पटक धरान उपमहानगरपालिकालाई जानकारी गराए पनि समस्या समाधान नभएको गुनासो गरेका छन्। परीक्षा नजिकिँदै गर्दा समेत शिक्षक नियुक्ति नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको उनीहरूको भनाइ छ।
आन्दोलनका क्रममा केही विद्यार्थीको स्वास्थ्यमा समेत समस्या देखिएको छ। अनसनमा बसेका सरस्वती माध्यमिक विद्यालय पानमाराका विद्यार्थी निर्जल भण्डारी बिरामी भएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन्।
त्यसैगरी ज्ञानोदय माध्यमिक विद्यालयका विद्यार्थी सागर तामाङ र नुक्साहाङ लिम्बुसमेत स्वास्थ्यमा समस्या देखिएपछि प्रतिष्ठानमा उपचाररत रहेको बताइएको छ।
विद्यार्थीहरूले शिक्षकको अभावका कारण आफ्नो पढाइ र भविष्यमा प्रत्यक्ष असर परेको बताएका छन्। सरस्वती माध्यमिक विद्यालयकी कक्षा ९ की छात्रा बिना विश्वकर्माले शिक्षक नहुँदा आफूहरूले विषयगत रूपमा राम्रोसँग अध्ययन गर्न नपाएको बताइन्।
‘शिक्षक नहुँदा हाम्रो पढाइ प्रभावित भएको छ। परीक्षा नजिकिँदै गर्दा पनि समस्या समाधान भएको छैन। यसले हाम्रो भविष्यमा नै असर पारिरहेको छ,’ उनले भनिन्।
विद्यार्थीहरूका अनुसार केही विषयमा करिब छ महिनादेखि नियमित रूपमा पढाइ हुन सकेको छैन। पटक–पटक नगरपालिका र सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि शिक्षक नियुक्ति प्रक्रियामा ढिलाइ भएको उनीहरूको आरोप छ।
आन्दोलन चर्किएपछि धरान उपमहानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज राईले सोमबारसम्म शिक्षक नियुक्ति गर्ने र शनिबार शिक्षक पदका लागि विज्ञापन खोल्ने गरी ज्ञानोदय र सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई प्रतिवेदन बुझाएका थिए।
तर उक्त प्रतिवेदनप्रति विद्यार्थीहरू सन्तुष्ट छैनन्। आफूहरूसँग छलफल तथा समन्वय नगरी शिक्षक नियुक्तिसम्बन्धी प्रतिवेदन तयार गरिएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन्। शिक्षक नियुक्तिको प्रक्रियामा राजनीतिक हस्तक्षेप हुनसक्ने भन्दै निष्पक्ष रूपमा तत्काल नियुक्ति प्रक्रिया अघि बढाउनुपर्ने विद्यार्थीहरूको माग छ।
विद्यार्थीहरूले पाँचवटा माग अघि सारेका छन्। उनीहरूले विषयगत शिक्षक तत्काल नियुक्त गर्नुपर्ने, शिक्षक नियुक्ति प्रक्रिया पारदर्शी बनाउनुपर्ने, आन्दोलनरत विद्यार्थीहरूसँग नगरपालिकाले प्रत्यक्ष छलफल गर्नुपर्ने, शिक्षकको अभावका कारण भएको पढाइको क्षतिपूर्ति हुने गरी शैक्षिक वातावरण सुनिश्चित गर्नुपर्ने तथा कक्षा छाडेर नपढाउने शिक्षकको समेत छानबिन गरी आवश्यक कारबाही गर्नुपर्ने माग राखेका छन्।
ज्ञानोदय माध्यमिक विद्यालयका विद्यार्थी सागर तामाङका अनुसार केही शिक्षकले कक्षामा पेनड्राइभमा सामग्री लगेर पढाउनुपर्ने अवस्थामा समेत विद्यार्थीलाई सामग्री दिएर कक्षाबाट बाहिरिने गरेको गुनासो विद्यार्थीहरूले गर्दै आएका छन्। त्यस्ता शिक्षकको समेत छानबिन हुनुपर्ने उनको माग छ।
तामाङले विद्यार्थीहरू शिक्षक नियुक्तिको माग गर्दै नगरपालिकामा पुगे पनि नगरप्रमुखले आफूहरूको समस्या सुन्न र छलफल गर्न चासो नदिएको आरोप लगाए।
‘हामी हाम्रो भविष्यसँग जोडिएको समस्या लिएर नगरपालिका आएका हौँ। तर हाम्रो कुरा सुन्ने र हामीसँग छलफल गर्ने वातावरण बनेन। त्यसैले बाध्य भएर कार्यकक्षमा तालाबन्दी र आमरण अनसन गर्नुपरेको हो,’ उनले भने।
विद्यार्थीहरूले शिक्षक नियुक्तिका लागि विज्ञापन मात्र खोल्ने आश्वासनभन्दा पनि वास्तविक रूपमा शिक्षक नियुक्ति प्रक्रिया अघि बढेको सुनिश्चितता खोजेका छन्। नगरप्रमुखले स्वयं विद्यार्थीहरूसँग बसेर उनीहरूको माग र समस्या सम्बोधन गर्ने प्रतिबद्धता नजनाएसम्म आमरण अनसन नतोड्ने उनीहरूको भनाइ छ।
विद्यार्थीहरूले शिक्षा जस्तो संवेदनशील विषयमा स्थानीय सरकार गम्भीर बन्नुपर्ने बताएका छन्। लामो समयदेखि शिक्षक अभावमा पढ्न नपाएका विद्यार्थीको समस्या समाधान नगरी प्रक्रिया र प्रतिवेदनमा मात्र सीमित हुँदा आफूहरू थप आक्रोशित बनेको उनीहरूको भनाइ छ।
शिक्षक नियुक्तिको विषयलाई लिएर सुरु भएको विद्यार्थी आन्दोलनले नगरपालिकाको शिक्षा व्यवस्थापनप्रति समेत प्रश्न उठाएको छ। अब नगरपालिकाले विद्यार्थीको माग कसरी सम्बोधन गर्छ र शिक्षक नियुक्ति प्रक्रिया कहिले अघि बढाउँछ भन्ने विषयमा विद्यार्थी, अभिभावक तथा विद्यालय समुदायको चासो बढेको छ।



प्रतिक्रिया