धरान,धरानमा मनी ट्रान्सफर कम्पनीको आवरणमा हुन्डी कारोबार गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा धरान–१३ घर भएकी ज्योति शाहीलाई प्रहरीले पक्राउ गरेको हो। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानका क्रममा उनलाई बिहीबार धरान–५ खैरेनीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शाहीले मनी ट्रान्सफर कम्पनीको आवरणमा हुन्डी कारोबार गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनले कम्पनीको नाममा ५२ वटा बैंक खाता खोलेर ती खातामार्फत हुन्डीको रकम अनलाइनबाट ट्रान्सफर गर्दै आएको पाइएको सीआईबीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानबाट शाहीसँग जोडिएको कारोबार रकम १ अर्ब ३ करोड ८४ लाख रुपैयाँ बराबर रहेको खुलेको सीआईबीका एसएसपी अनुपमशमशेर जबराले बताएका छन्।

सुनसरी जिल्ला अदालतबाट हुन्डीसम्बन्धी कारोबार गर्न नहुने कसुरमा अनुसन्धानका लागि पक्राउ अनुमति लिएर सीआईबी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले शाहीलाई पक्राउ गरेको हो।