धरान, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बडी बिल्डिङ खेल खर्चिलो भए पनि खेलाडी उत्पादन र खेलको विकासका लागि यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्ने बताएका छन्।धरानमा आयोजित कोशी प्रदेशस्तरीय राजभगत क्लासिकल बडी बिल्डिङ च्याम्पियनसिप–२०८३ को समापन तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले बडी बिल्डिङ खेलको विकासका लागि प्रदेश सरकारले आवश्यक आर्थिक तथा भौतिक सहयोग गर्न सक्ने प्रतिबद्धता व्यक्त गरे।

उनले युवालाई बडी बिल्डिङ खेलतर्फ आकर्षित गर्न र प्रतिभावान् खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा अघि बढाउन सरकारको साथ र सहयोग रहने बताए।

मुख्यमन्त्री कार्कीले आफू बडी बिल्डिङ खेलको प्राविधिक पक्षबारे धेरै जानकार नभए पनि प्रतियोगिता प्रत्यक्ष अवलोकन गर्दा खेलाडी छनोट, प्रतिस्पर्धा र मूल्याङ्कनको प्रक्रियाबारे बुझ्ने अवसर प्राप्त भएको बताए।

“बडी बिल्डिङ खेल खर्चिलो छ। तर खेलाडी उत्पादन र खेलको विकासका लागि यस्ता प्रतियोगिता निरन्तर हुन आवश्यक छ,” उनले भने, “कोशी प्रदेश सरकारले आवश्यक सहयोग गर्न सक्नेछ।”

उनले युवाको शारीरिक तथा मानसिक विकाससँगै खेल क्षेत्रमा रोजगारी र अवसर सिर्जना गर्न पनि बडी बिल्डिङलगायतका खेलको प्रवर्द्धन आवश्यक रहेको बताए।