धरान, धरान-१६ स्थित सिटी मन्टेश्वरी एकेडेमीले विद्यार्थी र ज्येष्ठ पुस्ताबीचको आत्मीय सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले 'ग्रान्ड पेरेन्ट्स डे-२०२६' मनाएको छ।
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा बिहीबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा पीजी देखि १ कक्षा सम्मका विद्यार्थीहरूले आफ्ना बाजेबोजुको उपस्थितिमा विभिन्न सांस्कृतिक तथा सिर्जनात्मक प्रस्तुति दिएका थिए।
कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गीत, कराँते तथा स्पीच प्रस्तुत गरी आफ्ना प्रतिभा प्रदर्शन गरेका थिए। साना विद्यार्थीहरूको प्रस्तुति हेर्न उपस्थित बाजेबोजु उत्साहित देखिन्थे।
कार्यक्रमको विशेष आकर्षण विद्यार्थीहरूले आफ्ना बाजेबोजुलाई टीका र खादा लगाएर सम्मान गर्नु तथा उनीहरूबाट आशीर्वाद ग्रहण गर्नु रहेको थियो। विद्यार्थीहरूले आफ्ना बाजेबोजुप्रति सम्मान, माया र आत्मीयता व्यक्त गरेका थिए।
उक्त सिटी मन्टेश्वरीकी निर्देशक ओमु राईको अनुसार बालबालिकाको सिकाइ केवल कक्षाकोठामा सीमित नरहने भएकाले उनीहरूलाई परिवारका ज्येष्ठ सदस्यको अनुभव, माया र संस्कारसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा विद्यार्थीका बाजेबोजु तथा विद्यालय परिवारको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूको प्रस्तुति, बाजेबोजुप्रतिको सम्मान र पुस्ताबीचको आत्मीयताले पारिवारिक सम्बन्धको महत्वलाई समेत उजागर गरेको थियो।



प्रतिक्रिया