विराटनगर, मोरङका विभिन्न सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी नेपाल भित्र्याइएका ७ लाख ३८ हजार ४ सय ४० बराबरका सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपालका विभिन्न युनिटबाट खटिएको टोलीले सीमा क्षेत्रमा निगरानी तथा गस्ती गर्ने क्रममा ३ वटा मोटरसाइकलसहित किराना सामान, मोबाइल कभर, मेसिनरी सामग्री, खेलौना तथा फलफूल बरामद गरेको हो।

सशस्त्र प्रहरीले भन्सार छली गरी ल्याइएको आशंकामा उक्त सामान तथा मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ। बरामद सामानको जम्मा मूल्य रु. ७ लाख ३८ हजार ४ सय ४० रहेको बताइएको छ।

नियन्त्रणमा लिइएका सामान तथा मोटरसाइकल आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सीमा क्षेत्रमा चाडपर्व नजिकिएसँगै भन्सार छली तथा अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।