धरान, धरान उपमहानगरपालिकाले धरान–८ स्थित नयाँ बसपार्क सञ्चालनलाई सहज बनाउन भानुचोक–नयाँ बसपार्क रुटमा निःशुल्क माइक्रोबस सञ्चालन गर्ने भएको छ।
कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाको निर्देशनमा शुक्रबारदेखि नगरकै १४ सिट क्षमताको माइक्रोबस सञ्चालन हुने भएको हो। बिहीबार धरान–८ का वडाध्यक्ष धनबहादुर राईसहित आन्दोलनरत स्थानीयसँग भएको छलफलपछि तत्काल माइक्रोबस सञ्चालन गर्ने निर्णय गरिएको हो।
उपमहानगरपालिकाका प्रशासन महाशाखा प्रमुख वेदप्रसाद सापकोटाका अनुसार माइक्रोबसले भानुचोकदेखि नयाँ बसपार्कसम्म यात्रु ओसारपसार गर्नेछ। यात्रुले उक्त सेवा निःशुल्क प्रयोग गर्न पाउनेछन्।
यसअघि असोज १३ गते कार्यवाहक नगरप्रमुख बेघाले इटहरीबाट धरान आउने यात्रुवाहक सवारीसाधनले नयाँ बसपार्कमा यात्रु ओरालेपछि भानुचोकसम्म जान चाहने यात्रुलाई भानुचोकसम्म ल्याउन पाउने व्यवस्था गरेका थिए।
नयाँ बसपार्कमा यात्रु आवागमन सहज बनाउन यसअघि नगर बस वा सटल सेवा सञ्चालन गर्ने प्रक्रिया अघि बढाउने सहमति भएको थियो। तर, स्थानीयसँगको छलफलपछि नगरले तत्काल आफ्नै माइक्रोबस सञ्चालन गर्ने निर्णय गरेको हो।
नगरको पछिल्लो निर्णयसँगै भानुचोक र नयाँ बसपार्कबीच यात्रु आवागमन सहज हुने अपेक्षा गरिएको छ।



प्रतिक्रिया