धरान, कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म 'बाटुलो जून'को टिजर सार्वजनिक भएको छ।

बुढासुब्बा डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक टिजरमा पुरानो समयको प्रेम, सामाजिक परिवेश र पात्रहरूको सम्बन्धको भावनात्मक झलक देखाइएको छ।

३० को दशकको परिवेशमा आधारित फिल्मले आधुनिक प्रविधिभन्दा फरक त्यस समयको प्रेम, भावना र सामाजिक संस्कृतिलाई कथाको केन्द्रमा राखेको छ। टिजरले फिल्मको कथा पूर्ण रूपमा नखुलाई दर्शकमा कौतुहलता जगाउने प्रयास गरेको छ।

फिल्मका निर्देशक भुवन केसी हुन्। अनमोल केसी मुख्य भूमिकामा रहेको फिल्ममा भुवन केसी पनि महत्वपूर्ण भूमिकामा देखिँदैछन्। यसै फिल्मबाट प्रिन्सी खतिवडाले अभिनय यात्रा सुरु गरेकी छन् भने गरिमा पन्त पनि लामो समयपछि पर्दामा फर्किएकी छन्।

सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको फिल्ममा राजेश श्रेष्ठको छायांकन, कृष्ण भण्डारीको सम्पादन र रोमन बज्राचार्यको संगीत छ। जिया केसी र भविष्य खड्काले निर्माण गरेको फिल्म सनराइज पिक्चर प्रा.लिको ब्यानरमा बनेको हो।

भुवन र अनमोल केसीलाई एकसाथ पर्दामा देख्न पाइने भएकाले पनि ‘बाटुलो जून’ दर्शकमाझ चासोको फिल्म बनेको छ।