धरान, धरान खेलकुद मञ्चको आयोजनामा 'तेस्रो खेलकुद अवार्ड सम्पन्न-२०८३' भएको छ। 

खेलाडीलाई प्रोत्साहन गर्दै खेलकुद क्षेत्रमा योगदान पुर्‍याउने खेलाडी, प्रशिक्षक, पूर्वखेलाडी तथा पत्रकारलाई सम्मान गर्ने उद्देश्यले मञ्चले शुक्रबार उक्त अवार्ड कार्यक्रम आयोजना गरेको हो।

अवार्ड अन्तर्गत उत्कृष्ट महिला खेलाडीतर्फ तेक्वान्दोकी युमी राई प्रथम भएकी छन्। उनले नगद २५ हजार रुपैयाँसहित सम्मान प्राप्त गरिन्। प्रतिषा राई दोस्रो तथा तेक्वान्दोकी अञ्जली ठकुरी तेस्रो भएकी छन्। उनीहरूलाई प्रमाणपत्र सहित सम्मान गरिएको छ।

उत्कृष्ट पुरुष खेलाडीतर्फ राष्ट्रिय फुटबल खेलाडी मिलन राई, लेसन राई र प्रमोद राई छनोट भएका थिए। उनीहरूमध्ये प्रमोद राई प्रथम हुँदै नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। मिलन राईलाई प्रमाणपत्र सहित सम्मान गरिएको छ।

त्यस्तै, पूर्वफुटबल खेलाडी इन्द्र रसाइलीलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको छ। उत्कृष्ट प्रशिक्षकको पुरस्कार कराते प्रशिक्षक किरण तामाङले प्राप्त गरेका छन्। उनलाई नगद २५ हजार रुपैयाँ, प्रमाणपत्र र ट्रफीसहित सम्मान गरिएको हो।

पब्लिक चोइस विधामा मतदानमार्फत छनोट भएका १० खेलाडीमध्ये उत्कृष्ट तीन जनालाई पनि सम्मान गरिएको छ। कराँतेका निगम तिमल्सिना पहिलो हुँदै नगद २५ हजार रुपैयाँ प्राप्त गरे। टेबल टेनिसकी श्रेया सुवेदी दोस्रो हुँदै १० हजार रुपैयाँ तथा करातेका साहिल राई तेस्रो हुँदै ५ हजार रुपैयाँ पुरस्कारबाट सम्मानित भए।

त्यसैगरी, आर्थिक वर्ष २०८२/८३ मा खेलकुदसम्बन्धी समाचार सम्प्रेषणमार्फत योगदान पुर्‍याएको भन्दै पत्रकार गोविन्द बस्नेतलाई नगद १० हजार रुपैयाँसहित उत्कृष्ट पत्रकार पुरस्कार प्रदान गरिएको छ।

कार्यक्रममा विभिन्न विधाका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई नगद पुरस्कार, प्रमाणपत्र र ट्रफीसहित सम्मान गरिएको हो। मञ्चका अध्यक्ष किशोर राईका अनुसार खेलाडीलाई प्रोत्साहन र हौसला प्रदान गर्दै उनीहरूलाई निरन्तर खेल क्षेत्रमा टिकाइराख्ने उद्देश्यले अवार्ड कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा मञ्चका अध्यक्ष राईले धरान उप-महानगरपालिकाले खेलकुद क्षेत्रमा पर्याप्त बजेट नछुट्याएको भन्दै असन्तुष्टि व्यक्त गरे। धरानलाई ‘खेलकुदको सहर’ भनेर भाषणमा मात्र सीमित नगरी खेलाडी उत्पादन, प्रोत्साहन र संरक्षणका लागि स्थानीय सरकारले लगानी बढाउनुपर्ने उनको भनाइ थियो।

उनले खेलाडीलाई निरन्तर खेल क्षेत्रमा टिकाइराख्न पुरस्कार र सम्मानसँगै नियमित प्रशिक्षण, प्रतियोगिता तथा पूर्वाधारमा लगानी आवश्यक रहेको बताए। चौथो खेलकुद अवार्डसम्म आइपुग्दा पनि नगरको खेलकुद बजेटलाई प्राथमिकतामा राख्नुपर्ने अवस्था रहेको भन्दै आगामी बजेटमा खेलकुदका लागि पर्याप्त रकम छुट्याउन उनले माग गरे।

यद्यपि, कार्यक्रम सञ्चालनका लागि धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाले नगरको कोषबाट २ लाख रुपैयाँ सहयोग गरेको जानकारी दिइएको छ।

कार्यक्रमका प्रमुख अतिथि कार्यवाहक नगरप्रमुख बेघाले धरान उपमहानगरपालिकाले खेलकुद क्षेत्रलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। आफू जिम्मेवारीमा रहँदासम्म खेलाडी र खेलकुद क्षेत्रका लागि सहयोग तथा बजेट व्यवस्थापनमा पहल गर्ने उनले बताए।

धरान खेलकुदको उर्वर सहर भएको उल्लेख गर्दै बेघाले खेलाडीलाई प्रोत्साहन गर्ने मञ्चको प्रयास उदाहरणीय रहेको बताए। आगामी दिनमा खेलाडीको मनोबल बढाउने र खेलकुदको विकासमा नगरपालिकाले आवश्यक भूमिका निर्वाह गर्ने उनको भनाइ थियो।

मञ्चका नवीन राईले पनि नगरपालिकाले खेलकुदमा पर्याप्त लगानी नगर्दा खेलाडीको मनोबलमा असर पर्न सक्ने बताए। राष्ट्रियस्तरमा समेत प्रतिस्पर्धा गरिसकेका धरानका खेलाडीलाई थप अवसर र प्रोत्साहन दिन तथा धरानलाई खेलकुदको सहरका रूपमा विकास गर्न स्थानीय सरकारले दीर्घकालीन रूपमा बजेट र कार्यक्रम ल्याउनुपर्ने उनले बताए।

उनका अनुसार धरानमा करिब २५ देखि २६ वटा विभिन्न खेल सञ्चालन हुँदै आएका छन्। तर अवार्डका लागि भएको नोमिनेसनमा करिब ६–७ वटा खेलका टोली मात्र सहभागी भएको भन्दै उनले खेलकुद संघसंस्थाको सहभागितामाथि पनि प्रश्न उठाए।

हरेक खेलका संघसंस्थाले वर्षभरि विभिन्न प्रतियोगिता तथा गतिविधि सञ्चालन गर्ने भए पनि त्यस्ता गतिविधिमा सहभागी खेलाडीहरू अवार्डको नोमिनेसनमा किन समेटिन सकेनन् भन्ने विषयमा समीक्षा आवश्यक रहेको उनको भनाइ थियो। आगामी संस्करणमा धरानका सबै खेल तथा खेलकुद संस्थाको सक्रिय सहभागिता बढ्ने अपेक्षा रहेको उनले बताए।

खेलाडी, प्रशिक्षक, पूर्वखेलाडी तथा पत्रकारलाई सम्मान गर्दै आयोजना गरिएको अवार्ड कार्यक्रमले धरानको खेलकुद क्षेत्रका उपलब्धिसँगै स्थानीय तहबाट खेल क्षेत्रमा थप लगानी र प्राथमिकताको आवश्यकता पनि उजागर गरेको छ।