धरान, धरानमा शनिबार आयोजित ‘सुम्निमा रन २०८३’ अन्तर्गत ४ किलोमिटर दौड प्रतियोगितामा पुरुषतर्फ ताप्लेजुङका अमिर लिम्बु र महिलातर्फ भोजपुरकी जुलिन राई प्रथम भएका छन्।

धरानको जानकीचोकदेखि चिन्डे डाँडासम्म आयोजना गरिएको दौडमा विभिन्न स्थानबाट आएका धावक–धाविकाले सहभागिता जनाएका थिए। चर्चित गायक राजेशपायल राईसमेत दौडमा सहभागी हुँदै जानकीचोकबाट चिन्डे डाँडासम्म पुगेका थिए।

प्रतियोगिताको भेट्रान पुरुषतर्फ रेशम लिम्बु प्रथम, विमन राई दोस्रो र अविजय राई तेस्रो भए। त्यस्तै भेट्रान महिलातर्फ जमुना लिम्बु प्रथम, जमुना राई दोस्रो र कुसुम लिम्बु तेस्रो भए।

४ किलोमिटर दौडका पुरुष तथा महिला दुवै विधामा प्रथम हुनेलाई १५ हजार, दोस्रोलाई १० हजार र तेस्रोलाई ७ हजार ५ सय रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो। विजेता तथा सहभागी धावकलाई फिनिसर मेडलसमेत प्रदान गरिएको थियो।

यसैबीच, उत्कृष्ट धावकका रूपमा छनोट भएका एक पुरुष र एक महिला धावकलाई श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष तथा सांसद हर्क साम्पाङ राईले व्यक्तिगत रूपमा जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरेका थिए।

कार्यक्रमका चर्चित गायक राजेशपायल राईले प्रतियोगिताका विजेता तथा सहभागी सबैलाई बधाई दिँदै सुम्निमा रनले खेलकुदसँगै धरानको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने बताए।

FB_IMG_1791039387979उनले अन्य कार्यक्रमका लागि लिने पारिश्रमिक नलिई सुम्निमा रनमा निःशुल्क सहयोग गरेको उल्लेख गरे। सुम्निमा राई समुदायको धर्म तथा संस्कारसँग जोडिएको विषय भए पनि चिन्डे डाँडामा निर्माण भइरहेको सुम्निमा–पारुहाङ स्थलले धार्मिक तथा सांस्कृतिक महत्वसँगै पर्यटनको सम्भावना बोकेको उनको भनाइ थियो।

सुम्निमा–पारुहाङ निर्माणस्थललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके धरानमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने र त्यसले नगरको आर्थिक गतिविधिमा समेत टेवा पुग्ने भन्दै उनले सबैलाई हातेमालो गर्न आग्रह गरे।

FB_IMG_1791039390184कार्यक्रममा सांसद हर्क साम्पाङले सुम्निमा रन सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थालाई धन्यवाद दिए। उनले चिन्डे डाँडामा निर्माण भइरहेको सुम्निमा–पारुहाङ स्थललाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने अभियानमा सुम्निमा रन महत्वपूर्ण माध्यम बनेको बताए।

आफूले बोलेका कुरा पूरा गर्न प्रतिबद्ध रहेको बताउँदै साम्पाङले विकासका योजना अघि बढाउने क्रममा विभिन्न अवरोध आए पनि लक्ष्यबाट पछि नहट्ने धारणा राखे। उनले आफू वचनको पक्का भएको भन्दै कसैले खुट्टा ताने पनि विकासका योजना निरन्तर अघि बढाउने बताए।

आयोजकका अनुसार सुम्निमा रनमार्फत खेलकुद, संस्कृति र पर्यटनलाई एकै ठाउँमा जोड्ने प्रयास गरिएको हो। दौडमा सहभागी धावक तथा उपस्थित सर्वसाधारणको उत्साहले चिन्डे डाँडालाई धरानको नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने अभियानलाई थप बल पुगेको आयोजकको भनाइ छ।