विराटनगर,  विराटनगरस्थित एकीकृत भन्सार जाँचचौकी (आईसीपी)सँग जोडिएको नेपाल कष्टम यार्ड (एनसीवाई)को संरचना भत्किएपछि आगामी कार्गोरेलबाट आउने कन्टेनर अनलोडमा समस्या हुनसक्ने जोखिम बढेको छ।

गत साउन ४ गतेयता चारवटा कन्टेनर कार्गोरेलमार्फत एनसीवाईसम्म आएर अनलोड भइसकेका छन्। तर, कन्टेनर अनलोड गर्न प्रयोग हुने करिब ७० टन क्षमताको रिच स्टेकर तथा कन्टेनरको भार थेग्न नसक्दा यार्डको कालोपत्रे उप्किएर फाट्नुका साथै ठाउँ–ठाउँमा खाल्डाखुल्डी परेको छ।

यार्डको संरचना कमजोर भएपछि रेलको ¥याकबाट कन्टेनर झार्न जोखिम हुने भन्दै ट्रान्स नेपाल टीआरएस लोजीपार्कका प्रमुख व्यवस्थापक लक्ष्मी सुब्बाले चिन्ता व्यक्त गर्नुभएको छ। उहाँका अनुसार यार्ड मर्मत गर्ने निकायबारे अन्योल हुँदा कार्गोरेल सञ्चालनमै समस्या आउन सक्ने अवस्था बनेको हो।

समस्या देखिएपछि प्रतिनिधिसभाको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले आइतबार एनसीवाईको स्थलगत अनुगमन गर्नुभएको थियो। उहाँले यार्ड तत्काल मर्मत गर्नुपर्ने अवस्था देखिएकाले नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडलाई स्रोत व्यवस्थापन गरी मर्मत अघि बढाउन निर्देशन दिएको जानकारी दिए।

गजुरेलका अनुसार एनसीवाई भारतले निर्माण गरी नेपाललाई हस्तान्तरण गरिसकेकाले यसको मर्मत नेपालले नै गर्नुपर्ने हुन्छ। यस्तै, एनसीवाई र आईसीपी जोड्ने सडक तथा कल्भर्टसमेत मालवाहक सवारीको भार थेग्न नसक्दा भासिएको भन्दै तत्काल मर्मत गर्न निर्देशन दिइएको छ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका व्यवस्थापक तुलसी पोखरेलले यार्ड मर्मतका लागि स्रोत व्यवस्थापनको प्रक्रिया सुरु गरिएको जानकारी दिनुभयो। रेलवे बोर्डबाट हस्तान्तरणको केही प्रक्रिया बाँकी रहेकाले अन्योल देखिएको भए पनि सोमबारदेखि नै मर्मत प्रक्रियाबारे प्रारम्भिक छलफल सुरु भएको उनले  बताए।

एनसीवाईमा कन्टेनर राख्ने यार्ड, ब्यागेज कार्गो राख्ने प्लेटफर्म तथा एनसीवाईदेखि आईसीपीसम्म जोडिने सडकसमेत प्रभावित भएपछि निजी क्षेत्रबाट सञ्चालन हुँदै आएको कार्गोरेल सेवामा थप चुनौती देखिएको छ।