इनरुवा, सुनसरीको इनरुवा नगरपालिका–३ स्थित सखुवागाछी चेकपोस्टबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।
प्रहरीले तरकारी (बन्दाकोपी) बोकेको ट्रकबाट २ हजार ५६६ किलो ग्राम गाँजा बरामद गरेको हो।
सोमबार ट्राफिक प्रहरीसहितको संयुक्त चेकिङका क्रममा शंकास्पद रूपमा जाँच गर्ने क्रममा ना.७ ख १८२५ नम्बरको ट्रकमा लुकाएर राखिएको अवस्थामा गाँजा फेला परेको सुनसरी प्रहरीले जनाएको छ।
गाँजासहित प्रहरीले ट्रकका चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा धनकुटाका ट्रक चालक राजु राई र सहचालक सन्दीप राई रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पुष्पराज मल्लले गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाइएको जानकारी दिए।
एसपी मल्लका अनुसार सुनसरी प्रहरीले लागुऔषध तस्करीको सञ्जाल पहिचान गरी नियन्त्रण गर्ने उद्देश्यले निगरानी तथा चेकजाँचलाई थप प्रभावकारी बनाउँदै लगेको छ।
बरामद गाँजा कहाँबाट ल्याइएको र कहाँ लैजाने तयारी गरिएको थियो भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया