धरान, सुनसरी, मोरङ, झापा र उदयपुर जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित १५ जनालाई पक्राउ गरेको छ।
प्रहरीले प्रतिबन्धित औषधि, ब्राउन सुगर र गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार बिहीबार सुनसरीको अस्थायी प्रहरी चौकी नडाहाले उदयपुरको चौदण्डीगढी नगरपालिका–३ का नरेश राई र अनुश मगरलाई प्रतिबन्धित औषधिसहित पक्राउ गरेको छ। उनीहरूको साथबाट डाइसाइक्लोमाइन १ हजार ३९० ट्याब्लेट र ट्रामाडोल १ हजार ३९० क्याप्सुल बरामद गरिएको छ।
त्यसैगरी, झापाको इलाका प्रहरी कार्यालय दमकले दमक नगरपालिका–७ का आशिषकुमार तामाङ, शशिषकुमार तामाङ, समिर मल्लिक, पुजन सुन्दास र काठमाडौंको तारकेश्वर नगरपालिका–११ का समिर क्षेत्रीलाई पक्राउ गरेको छ। उनीहरूको साथबाट १ ग्राम ८४० मिलिग्राम ब्राउन सुगर र ट्रामोलका २७ क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ।
सोही क्रममा दमक नगरपालिका–७ का राज गौतम र लक्ष्मी शंकरलाई ६० ट्याब्लेट प्रतिबन्धित औषधिसहित पक्राउ गरिएको छ।
मोरङमा पनि प्रहरीले विभिन्न स्थानबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। अस्थायी प्रहरी चौकी कानेपोखरीले भोजपुरको षडानन्द नगरपालिका–७ का सूर्य दर्जीलाई १ ग्राम २८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।त्यस्तै, अस्थायी प्रहरी चौकी सोमबारेले बेलबारी नगरपालिका–६ का राहुल राईलाई नौ ट्याब्लेट प्रतिबन्धित औषधिसहित पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय लौकहीले दुहबी नगरपालिका–५ का शिशिर कुँवरलाई ४२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय पकलीले इटहरी उपमहानगरपालिका–१७ की जैमुल खातुनलाई ५०० ग्राम गाँजासहित पक्राउ गरेको छ।
यसैगरी, उदयपुरको इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले धरान उपमहानगरपालिका–२० का विशाल राईलाई पाँच किलोग्राम गाँजासहित पक्राउ गरेको छ।
मोरङको इलाका प्रहरी कार्यालय मायागञ्जले धनपालथान गाउँपालिका–३ मा बेवारिसे अवस्थामा रहेको २४ किलो ७१० ग्राम गाँजा समेत बरामद गरेको छ।
प्रहरीले लागूऔषध ओसारपसार तथा कारोबार नियन्त्रणका लागि विभिन्न स्थानमा चेकजाँच र निगरानीलाई तीव्र बनाएको जनाएको छ।



प्रतिक्रिया