धरान, धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रयोगशालाको रिपोर्ट लिन बिरामी तथा आफन्तले लामो समय लाइन बस्नुपर्ने समस्या हटाउन स्वचालित ल्याब रिपोर्ट प्रिन्ट गर्ने मेसिन सञ्चालनमा ल्याएको छ।
प्रतिष्ठानको सेन्ट्रल ल्याबमा जडान गरिएको मेसिनको सोमबार उपकुलपति प्रा.डा. स्मृति कार्की र अस्पताल निर्देशक डा. इन्द्रकुमार लिम्बूले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।
नयाँ प्रणालीमार्फत ल्याब परीक्षण गराएपछि प्राप्त हुने बिलमा रहेको बारकोड मेसिनमा स्क्यान गरेपछि केही सेकेन्डमै रिपोर्ट प्रिन्ट गर्न सकिनेछ। यसबाट रिपोर्ट लिन छुट्टै काउन्टरमा लामो समय कुर्नुपर्ने बाध्यता हट्ने प्रतिष्ठानले जनाएको छ।
यसअघि बिरामीको चाप बढ्दा रिपोर्ट वितरण गर्ने काउन्टरमा भीड लाग्ने, रिपोर्ट खोज्न तथा वितरण गर्न कर्मचारीलाई समय लाग्ने र बिरामी तथा आफन्तले लामो समय प्रतीक्षा गर्नुपर्ने अवस्था थियो।
प्रतिष्ठानका प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठले सेवा प्रवाहलाई छिटो, सहज र प्रविधिमैत्री बनाउने उद्देश्यले मेसिन सञ्चालनमा ल्याइएको बताए। उनका अनुसार नयाँ प्रणालीले रिपोर्ट लिन लाग्ने समय घटाउनुका साथै भीड व्यवस्थापन र रिपोर्ट वितरणमा हुने सम्भावित त्रुटि पनि कम गर्नेछ।
प्रतिष्ठानले अस्पतालका सेवामा आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै स्वचालित प्रणाली विस्तार गर्दै जाने जनाएको छ। नयाँ सेवाबाट दैनिक उपचारका लागि प्रतिष्ठान आउने ठूलो संख्याका बिरामी तथा आफन्त लाभान्वित हुने अपेक्षा गरिएको छ।



प्रतिक्रिया