उदयपुर, उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले १ हजार ९९ किलो ८४० ग्राम गाँजा बरामद गरेको छ।

गाँजा ओसारपसारमा प्रयोग गरिएका दुईवटा पिकअप गाडीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

असोज २६ गते विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित सडक छेउमा शङ्कास्पद अवस्थामा रोकिराखेको बा.१४ च २२५५ नम्बरको बोलेरो पिकअपबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरेको हो।

उक्त पिकअपको डालामा २९ वटा बोरामा प्याक गरेर राखिएको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ।

त्यसैगरी, बेलका नगरपालिका–५ देउरालीस्थित प्रहरी चौकी लालबजारबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा अर्को पिकअपबाट १५९ किलो ४०० ग्राम गाँजा बरामद गरेको छ।

प्र.१–०२–००२ च ५२९० नम्बरको उक्त पिकअपमा धानको भुस राख्ने बोराभित्र लुकाइछिपाइ गाँजा ओसारपसार गरिरहेको अवस्थामा सप्तरीको सप्तकोशी नगरपालिका–८ निवासी २८ वर्षीय चालक पशुपति साफीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुवै स्थानबाट बरामद गरिएको गाँजाको कुल तौल १ हजार ९९ किलो ८४० ग्राम रहेको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।