विराटनगर, कोशी प्रदेश सरकारको आयोजनामा विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सुरु भएको छ।

सम्मेलनको उद्घाटन गर्दै सातै प्रदेशका मुख्यमन्त्रीहरूले संघीयता कार्यान्वयन, प्रदेशका अधिकार, वित्तीय हस्तान्तरण र अन्तरप्रदेश सहकार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।

कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्रीहरूले संविधानअनुसार अधिकार हस्तान्तरण र आवश्यक कानुन निर्माणमा संघीय सरकारले ढिलाइ गर्दा प्रदेशको काम प्रभावित भएको बताए। उनीहरूले प्रहरी तथा निजामती ऐन शीघ्र निर्माण गर्न र वित्तीय हस्तान्तरण प्रभावकारी बनाउन माग गरे।

बागमती र कोशी प्रदेशका मुख्यमन्त्रीहरूले जलवायु परिवर्तनको असर न्यूनीकरणमा प्रदेशहरूबीच साझा नीति बनाउनुपर्ने बताए। मधेस प्रदेशका मुख्यमन्त्रीले साझा लगानी, धार्मिक पर्यटन र अन्तरप्रदेश साझेदारीमार्फत विकासलाई अघि बढाउनुपर्नेमा जोड दिए।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मेलन संघीय सरकारको आलोचना गर्न नभई साझा समस्या पहिचान गरी समाधान खोज्ने उद्देश्यले आयोजना गरिएको बताए। उनले संघीयता कार्यान्वयनका जटिलता पहिचान गरी निष्कर्ष प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरिने जानकारी दिए।

दुई दिनसम्म चल्ने सम्मेलनमा विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने, उद्योगी–व्यवसायीसँग छलफल गर्ने तथा निष्कर्ष संघीय सरकारसमक्ष पुर्‍याउने कार्यक्रम रहेको छ। मुख्यमन्त्रीहरूलाई कोशी प्रदेशका पर्यटकीय स्थलहरूको भ्रमणसमेत गराइनेछ।