धरान, धरान उपमहानगरपालिका र मानव सेवा आश्रमको सहकार्यमा सडकमा आश्रित तथा मागेर बस्ने करिब ३० जनाको उद्धार गरिएको छ।
मंगलबार भानुचोक, देशीलाइनलगायत विभिन्न चोक तथा सडकबाट उनीहरूको उद्धार गरी धरान–१६ स्थित मानव सेवा आश्रममा व्यवस्थापन गरिएको हो।
उद्धार गरिएकालाई माला लगाएर सम्मान गर्दै आश्रम पठाइएको थियो। उपमहानगरपालिकाका कार्यवाहक मेयर आन्द्रविक्रम बेघाले आगामी कार्तिक १८ गतेसम्म धरानलाई सडक मानवमुक्त बनाउने योजना रहेको बताए।
परिवार भएका व्यक्तिलाई पहिचान गरी परिवारको जिम्मा लगाउने तथा परिवार नभएका र असहायलाई आश्रममा संरक्षण, खानपान र आवश्यक उपचारको व्यवस्था गरिने उनले बताए।
धरान–२ का वडाध्यक्ष रमेश राईले भानुचोक र देशीलाइन क्षेत्रमा बालबालिकालाई प्रयोग गरी माग्न लगाउने गतिविधि समेत देखिएको बताए। यस्तो गतिविधि बालशोषणसँग जोडिएकाले रोक्न सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ।
उपमहानगरपालिका कार्यपालिका सदस्य सिर्जना नेपालका अनुसार उद्धार गरिएकामध्ये सिराहा–सप्तरी क्षेत्रबाट आएका नवजात शिशुसहितका महिलासमेत छन्। उनीहरूको पहिचान र पारिवारिक खोजतलास गरी परिवारसँग पुनर्मिलन गराइने तथा परिवार नभएकालाई आश्रममा राखिनेछ।
उपमहानगरपालिकाले सडकमा विभिन्न बहाना बनाएर मागेर बस्ने व्यक्ति वा समूहबारे जानकारी भएमा सम्बन्धित निकायलाई खबर गर्न आग्रह गरेको छ।
प्रतिक्रिया