विराटनगर, विराटनगर कारागारमा कैदीबन्दीलाई भेट्न आएका दुई महिलाबाट ४८० थान शंकास्पद लागुऔषध ट्याब्लेट बरामद भएको छ।
ट्याब्लेट भित्री वस्त्रमा प्रयोग हुने प्याडभित्र लुकाएर कारागार प्रवेश गर्न खोजेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
बुधबार विराटनगर महानगरपालिका–८, हाटखोलास्थित कारागारको मुख्य प्रवेशद्वारमा नियमित जाँच गर्ने क्रममा सुनसरीको धरान उपमहानगरपालिका–११ का मेलिना तामाङ र पूर्णिमा तामाङ पक्राउ परेका हुन्।
प्रहरीका अनुसार उनीहरूले प्याडभित्र ट्याब्लेट लुकाएर कारागारभित्र लैजान खोजेका थिए। जाँचका क्रममा हरियो रङका २४० थान र सुन्तला रङका २४० थान गरी कुल ४८० थान ट्याब्लेट बरामद गरिएको हो।
बरामद ट्याब्लेट कुन प्रकारको लागुऔषध हो भन्नेबारे प्रहरीले खुलाएको छैन। बरामद सामग्रीसहित दुवै महिलालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि कारागारमा खटिएको प्रहरी टोलीको जिम्मा लगाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया