धरान, धरान-८ स्थीत भोटेपुलमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। 

दुर्घटनामा धनकुटा नगरपालिका–९ बेलहराका ३६ वर्षीय दीपेन्द्रराज राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईका अनुसार कोशी लोकमार्गमा धरानबाट इटहरीतर्फ जाँदै गरेको मोटरसाइकललाई सोही दिशाबाट आएको ट्रकले ठक्कर दिएको थियो।

प्रदेश १–०२–०५९ प ३०९३ नम्बरको मोटरसाइकललाई प्रदेश १–०२–००२ ख ०९५९ नम्बरको ट्रकले ठक्कर दिँदा राई गम्भीर घाइते भएका थिए। उनको टाउकोमा गम्भीर चोट लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरीले ट्रक चालक भोजपुरको षडानन्द नगरपालिका–१३ बोयाका ३५ वर्षीय नानीकाजी श्रेष्ठलाई नियन्त्रणमा लिएको छ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी निरीक्षक बविन राईको कमान्डमा सात जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। मृतकको शव परीक्षण तथा आवश्यक कानुनी प्रक्रियाका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।