धरान, नेपालको प्राचीन यलम्वर सम्बत् ५०८५ को अवसरमा किराँत राई यायोक्खा सुनसरीले सप्ताह व्यापी कार्यक्रम आयोजना गर्ने भएको छ।
बिक्रम सम्बत् र ईस्वी सम्बत् भन्दा पुरानो यलम्बर सम्बत् भए पनि नेपाल सरकारले मान्यता नदिई रहेको हालको अवस्थामा यलम्बर सम्बतलाई राष्ट्रिय सम्बतको मान्यता दिनुपर्ने भन्दै दबाब दिन विगत देखि नै कार्यक्रम गर्दै आएकोमा यस वर्ष सप्ताह व्यापी कार्यक्रम गर्न लागेको किराया सुनसरीले आज पत्रकार सम्मेलन गरि जानकारी गराएको छ।
किराँतीहरुको नयाँ बर्षको रुपमा मात्रै मनाउँदै आएको यलम्बर सम्बत ५०८५ नेपालको प्राचीन सम्बत हो र यो सम्बत सम्पुर्ण नेपाल र नेपालीको सम्बत हो भन्ने प्रचारप्रसार गर्ने उदेश्य साथै यलम्बर सम्बतलाई नेपालमा लागु गर्न दबाब दिने उदेश्यले यलम्बर स्मृति संग्रहालय धरान-१० मा आयोजित पत्रकार सम्मेलनमा उक्त सप्ताह व्यापी कार्यक्रमको पौष २५ गते देखि माघ २ गतेसम्म आयोजना हुने किराया सुनसरी सचिव शम्भु राई(पृथक)ले बताए।
उनको अनुसार सप्ताह व्यापी कार्यक्रम अन्तरगत छेलो हान्ने प्रतियोगिता, रस्सी तान्ने प्रतियोगिता, बुद्धिचाल प्रतियोगिता, व्याडमिन्टन प्रतियोगिता, महिला फुटबल प्रतियोगितासँगै हाङ यलेम्बरको प्रतिमामा दिप प्रज्वलन, ८५ वटा बेलुनसहित सुम्निमा पारुहाङ अंकित लोगो र यायोख्खाको गौरवशाली झण्डा उडाउने कार्यक्रम आयोजना हुने भएको छ।
पत्रकार सम्मेलनमा किराया सुनसरी अध्यक्ष राजेन्द्र राईले हाल नेपालमा प्रयोग भएको बिक्रम सम्बत बिक्रम आदित्य र ईस्वी सम्बत जिजस क्राईष्टको नामबाट चलेको ती सम्बत नेपालसँग सम्बन्धित नभएको र ती दुई बिदेशी सम्बत भन्दा अगाडिको प्राचीन यलम्बर सम्बत भएले सरकारले नेपालको सम्बतको रुपमा यलम्बर सम्बतलाई लागू गर्नुपर्ने बताए।
पत्रकार सम्मेलन बीच नेपाल पत्रकार महासंघ सुनसरीका निवर्तमान सभापति जनकऋषि राई, नवनिर्वाचित अध्यक्ष सन्तोष काफ्ले, सदस्य रोहित कुलुङ राई र प्रदेश पार्सद विकास चाम्लिङलाई किराया सुनसरीले सम्मान गरिएको छ।