धरान, धरानमा जारी कोशी प्रदेश प्रिमियर लिग फुटबल प्रतियोगिताको सुपरलिग समिरण पुरा भएको छ।
कोशी प्रदेशका ११ जिल्लाका जिल्ला च्याम्पियन क्लबहरुविच भएको समुहचरणको लिगमा समुह बिजेता टिमहरु सुपर लिग (अन्तिम चार)मा प्रवेश गरेका छन्।
समुह ए बाट पाँचथर युनाइटेड, बी बाट गाईघाट फुटबल क्लब, सि बाट देउराली युथ क्ल्ब र समुह डि बाट बुइपा–११ सुपर लिगमा प्रवेश गरेका छन्।
आइतबारदेखि सुपर लिगमा चार टिमले प्रतिष्पर्धा गर्नेछन्। शुक्रबार धरान रंगशालामा भएको खेलमा सुनसरीको धरान फुटबल क्लबलाई २–२ गोलको बराबरीमा रोकेपछि बुइपा समुह विजेता बनेको हो।
यस अघि बुइपाले ताप्लेजुङको प्रगतिशिल फुटबल क्लबलाई पराजित गरी ३ अंक बटुलेको थियो। कुल ४ अंक भएको बुइपा समुह विजेता हुँदा धरानको एक अंक र प्रगतिशिलले भने अंक जोड्न सकेन।
बुइपाकालागी डिकेन राई र मिलन राईले गोल गरे। एक गोल र एक असिस्ट गरेका बुइपाका डिकेन राई म्यान अफ द म्याच घोषित भए। उनलाई नगद ५ हजार पुरस्कार प्रदान गरिएको थियो।
यसअघि बुइपाले ताप्लेजुङको भने धरान र प्रगतिशलबीचको खेलमा दुवै टोलीले खेल नियम विपरितका खेलाडी समावेश गरेपछि दुवै टोलीको अंक खोसिएको थियो।
धाइजन चारआली पनि कारवाहीमा
झापाको धाइजन चारआली फुटबल क्लबले पनि नियम विपरितका खेलाडी समावेश गरेपछि समुह सी अन्तर्गत भएको खेलमा धनकुटाको देउराली युथ क्लबलाई ३–० ले पराजित गरे पनि धाइजन चारआलीको अंक खोसिएको थियो भने नियमानुसार देउरालीले ३ अंक प्राप्त गरेको थियो।
देउरालीले बिहीबार भएको खेलमा इलामको रेडहर्ष क्लबलाई १–० ले पछि पारेपछि ६ अंकका साथ समुह विजेता हुँदै देउराली सुपर लिगमा पुगेको थियो। यस अघि नै पाँचथर र गाइघाट समुह विजेता हुँदै सुपरलिगमा प्रवेश गरिसकेका थिए।
यता समुह सी अन्तर्गत शुक्रबार भएको अन्तिम खेलमा इलामको रेडहर्ष क्लब र झापाको धाइजन क्लबको खेल २–२ गोलको बराबरीमा सकिएको थियो।
धाइजनकालागी सागर रसाइली र पुजन थापाले गोल गरे भने रेडहर्षकालागी विनोद धमला र सांगे शेर्पाले गोल गरे। रेडहर्षका गोलकर्ता विनोद धमला म्यान अफ द म्याच घोषित हुँदै ५ हजार पुरस्कार प्राप्त गरेका थिए।
कोशी प्रदेश फुटबल संघको आयोजनामा फागुन ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ११ जिल्लाका जिल्ला लिग च्याम्पियन क्लबहरुको सहभागीता थियो। अब आइतबारदेखि सुपर लिगमा चार टिमले प्रतिष्पर्धा गर्ने कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राइले जानकारी दिए।
लिगको विजेता र उपविजेता टिम राष्ट्रिय लिगको छनौटका लागि हुने अन्तरप्रादेशिक लिग खेल्न छनौट हुनेछन्। लिग विजेताले २ लाख, उपविजेताले १ लाख ५० हजार, तेस्रो हुने टिमले १ लाख २५ हजार र चौथो हुने टिमले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्।