धरान, धरानमा जारी प्रदेश प्रिमियर लिगमा धनकुटाको देउराली युथ क्लब शिर्ष स्थानमा उक्लिएको छ।
मंगलबार धरान रंगशालमा भएको खेलमा पाँचथरको पाँचथर युनाइटेडलाई ७–० ले पराजित गरेसँगै ४ अंक सहित देउराली युथ क्लब शिर्ष स्थानमा उक्लिएको हो। समान ४ अंक भएको उदयपुरको गाईघाट फुटबल क्लब भने गोल अन्तरको आधारमा दोस्रो स्थानमा छ।
देउरालीका लागि समिर लिम्बूले ह्याट्रिक गरे भने दिपेन शाक्यले २ गोल तथा विरेन लिम्बू र ज्ञानेन्द्र भण्डारीले एक एक गोल गरे। खेलको म्यान अफ द म्याच घोषित भएका समिर लिम्बूले नगद ५ हजार पुरस्कार प्राप्त गरे।
देउराली युथ क्लबले खेलको सुरुवातदेखि नै पाँचथरलाई दबाबमा राखेको थियो। पराजित भएको पाँचथर युनाइटेड अंक तालिकाको पुछारमा पुगेको छ। पाँचथरको दुई खेलबाट १ अंक रहेको छ।
मंगलबार नै भएको खेलमा उदयपुरको गाईघाट फुटबल क्लबले खोटाङको बुइपा–११ लाई २–० ले पराजित गर्दै ४ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा रहन सफल भएको छ। गाईघाटका लागि प्रविन राईले दुवै गोल गरे।
उनले पहिलो हाफको अन्तिम दुई मिनेटमा दुई गोल गरेका हुन्। खेलको म्यान अफ द म्याच समेत घोषित भएका प्रविन राईलाई नगद ५ हजार पुरस्कार प्रदान गरिएको थियो। पराजित भएको बुइपा–११ भने १ अंक सहित अंक तालिकाको तेस्रो स्थानमा रहन सफल भएको छ।
लिगमा बिहीबार विहान धरान रंगशालामा पाँचथर र गाईघाट तथा दिउँसो देउराली र बुइपा–११ बीच खेल हुनेछ भने उक्त खेलले लिगको विजेता उपविजेताको टुंगो समेत लाग्नेछ।
प्रतियोगितामा ११ जिल्लाका लिग च्याम्पियन क्लबहरूबीच प्रतिस्पर्धा भएको थियो। प्रतियोगिता फागुन ८ गतेसम्म सञ्चालन हुने सङ्घका अध्यक्ष किशोर राईले जानकारी दिए। लिग विजेताले २ लाख, उपविजेताले १ लाख ५० हजार, तेस्रो हुने टिमले १ लाख २५ हजार र चौथो हुने टिमले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्।