समय निरन्तर परिवर्तनशील छ र मानव सभ्यताले यस परिवर्तनलाई उत्सवका रूपमा आत्मसात् गर्दै आएको छ।

नेपालका विभिन्न जाति, भाषा, संस्कृतिहरूले आ–आफ्ना परम्पराअनुसार नयाँ वर्षको स्वागत गर्छन्। त्यही क्रममा, तामाङ, शेर्पा, भोटे, डोल्पाली, वालुङ, गुरुङ तथा हिमाली समुदायहरूका लागि ग्वाल्पो ल्होसार नयाँ वर्षको महत्वपूर्ण पर्व हो।

यो तिब्बती पात्रोअनुसार फागुन महिनाको पहिलो दिन मनाइन्छ। "ग्वाल्पो" को अर्थ राजा वा सम्राट, र "ल्होसार" को अर्थ नयाँ वर्ष हो। यस दिनलाई राजा–महाराजाहरूले आफ्नो शासनको नयाँ चक्र सुरू गर्ने दिनका रूपमा लिने प्राचीन मान्यता रहिआएको छ।

धार्मिक र सांस्कृतिक महत्त्व-

ग्वाल्पो ल्होसार केवल एक सामान्य नयाँ वर्षको चाड मात्र होइन, यो  जीवनचक्रको परिवर्तनको उत्सव पनि हो।

धार्मिक रूपमा, यो पर्व बुद्ध धर्मसँग गहिरो रूपमा सम्बन्धित छ। तिब्बती बौद्ध धर्मअनुसार, नयाँ वर्षको आगमनसँगै पुराना कर्म समाप्त गरी नयाँ संकल्पहरू लिने दिनका रूपमा ग्वाल्पो ल्होसारलाई लिइन्छ।

यस दिन विभिन्न गुम्बाहरूमा पूजापाठ, मन्त्रोच्चारण  र बुद्धका शिक्षाहरूको पाठ गरिन्छ। घरघरमा दीप प्रज्वलन गरी सुख, शान्ति, समृद्धिको कामना गर्ने गरिन्छ।

विशेषगरी, "छ्योडो" अर्थात् दान दिने परम्पराले यो पर्वलाई अझ धार्मिक रूपमा विशेष बनाउँछ। यस दिन दान गरेमा पुण्य प्राप्त हुन्छ र जीवनमा सकारात्मक ऊर्जा प्रवाहित हुन्छ भन्ने मान्यता रहिआएकाे छ।

परम्परा र संस्कृतिको सौन्दर्य-

ग्वाल्पो ल्होसार केवल धार्मिक आस्था मात्र होइन, यो एउटा जीवन्त संस्कृति पनि हो। यस दिन तामाङ, शेर्पा, भोटे र अन्य हिमाली समूदायहरू विशेष पोशाकमा सजिएर "ल्होसार नृत्य" तथा "ढोल झ्याम्टा"  नाचगान गर्छन्।

यस पर्वमा विशे परिकारहरू तयार पारिन्छन्, जसमध्ये "गुथुक" (नौ प्रकारका अन्न मिलाएर बनाइने खाना) प्रमुख हो। यो परिकार जीवनचक्रको विविधता र सन्तुलनको प्रतीक मानिन्छ।

ग्वाल्पो ल्होसारका सकारात्मक पक्षहरू-

१. सांस्कृतिक पहिचानको संरक्षण – हिमाली समूदायहरूको मौलिक संस्कृतिलाई जगेर्ना गर्दै सामाजिक एकता बलियो बनाउँछ।

२. सामुदायिक मेलमिलाप – परिवार, आफन्त र समाजबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने पर्व हो।

३. शुभ संकल्पको समय – पूरानो वर्षका भूलहरू सुधार्ने, सकारात्मक सोचको विकास गर्ने अवशर प्रदान गर्छ।

४. धार्मिक शुद्धीकरण – आत्मशुद्धि र आध्यात्मिक प्रगतिको अवशर हो, जहाँ ध्यान, पूजापाठ र ज्ञानचिन्तन गरिन्छ।

ग्याल्पाे ल्होसारको वास्तविक सन्देश-

ग्वाल्पो ल्होसार केवल नयाँ वर्ष मनाउने चाड मात्र होइन, यो जीवनको नयाँ सुरुवात गर्ने प्रेरणादायी पर्व हो।

यसले पूरानो वर्षका गल्तीहरू सुधार्ने, भोलिका दिनहरूलाई अझ उज्यालो बनाउन योजना बनाउने अवशर दिन्छ। प्रकृतिसँग मानव जीवनको सहअस्तित्वलाई स्वीकार्दै, कर्म र धर्मलाई आत्मसात् गर्ने यो पर्वले सांस्कृतिक विविधताको सौन्दर्यलाई उजागर गर्छ।

यस दिन हामी केवल नयाँ वर्ष मनाउने होइन, नयाँ सोच, नयाँ दृष्टिकोण र नयाँ कर्मका साथ जीवनलाई अगाडि बढाउने प्रण गर्ने समय हो।

यस शुभ अवशरमा स्वदेश तथा विदेशमा रहनु हुने दाजुभाई तथा दिदीबहिनीहरूमा शान्ति, समृद्धि र सुखमय भविष्यको शुभकामना ! तसीदले !!!