विराटनगर, चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी ९औं संस्करणको रमपम विराट गोल्डकपमा सेमि फाइलनमा पुगेको छ।
विराटनगरको सहिद रंगशालामा शनिबार अन्तिम क्वाटरफाइनलमा चर्च ब्वाइजले एनआरटीलाई २–० गोलको जित निकाल्दै अन्तिम चारको स्थान सुरक्षित गरेको हो। यो खेलसँगै गोल्डकपको सेमि फाइनलको समीकरण पुरा भएको छ।
यसअघि नेपाल पुलिस, थ्रीस्टार र विभागीय टिम त्रिभुवन आर्मी सेमिफाइनलमा पुगिसकेका छन्। चर्च ब्वाइजको जितसँगै अब फाइनल प्रवेशको लागि सोमबार नेपाल पुलिससँग प्रतिस्पर्धा गर्नेछ।
चर्च ब्वाइजको जितको लागि विदेशी खेलाडी रिचर्ड र आकाश राईले गोल गरेका थिए। खेलको ३५औं मिनेटमा चर्च ब्वाइजले अग्रता लिएको थियो।
लाक्पा पाख्रिनको पासमा रिचर्डले चलाखीपुर्ण ढंगले पोस्टको दिशा दिएका थिए। चर्च ब्वाइजका लागि दोस्रो गोल ६४ औं मिनेटमा सब्स्टिच्युट आकाशले गरे। दोस्रो हाफपछि चन्दन दासको ठाउँमा आकाश मैदान प्रवेश गरेका थिए।
प्रतिस्पर्धात्मक खेलमा एनआरटीको कमजोर रक्षापंक्तिको फाइदा उठाउँदै पहिलोे हाफमा १–० गोलले पछि पर्यो। पहिलो हाफमा एक गोलले पछि परेपछि दोस्रो हाफमा एनआरटी आक्रमक भएर मैदान प्रवेश गर्यो।
दोस्रो हाफमा एनआरटीले पाएका केही अवसरलाई चर्च ब्वाइजका रक्षापंक्तिका खेलाडीले विफल तुल्याइदिए। चर्च ब्वाइजको बलियो रक्षापंक्ति तोड्न नसक्दा एनआरटी पहिलो खेलबाटै घर फर्किन बाध्य भयो। एनआरटीले पाएको गोल गर्ने सुन्दर अवसर गोलमा परिणत गर्न नसक्दा बराबारीमा ल्याउने अवर पनि खेर गयो।
एनआरटीले पहिलो हाफमा बनाएको केही अवसर गुमाएको थियो। खेलको १४ औँ मिनेटमा डिबक्स भित्रबाट एनआरटीका राजिव लोप्चनले गरेको कडा प्रहार चर्च ब्वाइजका गोल रक्षक टेकेन्द्र सिंह थापाले उत्कृष्ट बचाए।
२४औं मिनेटमा एनआरटीका विदेशी खेलाडी अर्मनले गरेको प्रहार चर्च ब्वाइजका गोल रक्षक टेकेन्द्र बाधक बनिदिए। ३३औ मिनेटमा फोदेले वान भर्सेस वानको सुन्दर गोल गर्ने अवसर खेर फाले। उनको प्रहार बार माथिबाट बाहिरियो।
४०औ मिनेटमा चर्च ब्वाइजका विदेशी खेलाडी आबयोमि डिबक्स भित्रबाट गरेको कडा प्रहार पोस माथिबाट बाहिरियो।
एनआरटी फिनिसिङमा चुकेको थियो। यही कारणले टोली पहिलो खेलबाट बाहिरन बाध्य भयो। चर्च ब्वाइजले एक महिना अगाडी धरानमा सम्पन्न भएको २५ औं संस्करणको बुढासुब्बा गोल्डकपको फाइनलमा हारेको बदला पनि विराट गोल्डकपमा आएर लिएको छ। २६ माघमा सम्पन्न बुढासुब्बा गोल्डकपको फाइनलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ गोलले पराजित गर्दै एनआरटीले उपाधि उचालेको थियो।
एनआरटी र चर्च ब्वाइज युनाइटेडको यो सिजनको मोफसलमा भएको फुटबल प्रतियोगितामा चौथो पटकको भेट हो। जसमध्ये दुई एनआरटी र दुई चर्च ब्वाइजले जितेको छ। पछिल्लो भेटउनीहरुको २५ औं संस्करणको बुढासुब्बा गोल्डकपको फाइलनमा भएको थियो।
प्रतियोगिताको प्लेयर अफ द म्याच चर्च ब्वाइजका गोल रक्षक टेकेन्द्रसिंह थापा घोषित भए। उनले नगद ११ हजार पाए।आइतबारको पहिलो सेमिफाइनल खेल विभागीय टिम त्रिभुवन आर्मी र थ्रीस्टार बिच हुनेछ।