धरान, सुनसरी उद्योग वाणिज्य संघ धरानको आयोजनामा यहि पुष २५ देखि माघ ५ सम्म धरान एक्स्पो-२०८१ हुने भएको छ।
कृषि उत्पादन, कृषि उद्यम, उद्योग र पर्यटनको विकासमा योगदान पुर्याउने उद्देश्यले आयोजना गर्न लागेको उक्त एक्सपो धरान-१६ स्थीत धरान रंगशालामा हुने आयोजकले आज पत्रकार सम्मेलन गरि जानकारी गराएका छन्।
धरान उपमहानगरपालिका र कोशी प्रदेश सरकारको सहयोगमा हुने एक्सपोमा धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथुम, झापा, मोरङ, इलाम, उदयपुरबाट अवलोकनकर्ता तथा व्यवसायी आउने अपेक्षा राखेको संघका अध्यक्ष विजय श्रेष्ठले बताए।
नेपालसँगै भारत, पाकिस्तान लगायतबाट एक सय ४२ वटा स्टलमार्फत आफ्नो उत्पादन, बिक्री, सेवा, प्रदर्शनी तथा प्रवर्द्धन गर्ने साथै एक्सपोले यहाँको अर्थतन्त्रलाई थप टेवा पुग्ने एक्सपोको संयोजक गोपाल श्रेष्ठले बताए।
एक्स्पोमा मनोरञ्जनका लागि बाल उद्यान, रोटेपिङ, नाउ लगायत खेलतमासा राखिने, प्रत्येक साँझ राष्ट्रिय, स्थानीय कलाकारहरु मार्फत साङ्गीतिक मनोरञ्जन कार्यक्रम आयोजना र स्वरोजगार तालिम, पर्यटन गोष्ठी आयोजना गरिने भएको छ।