विराटनगर, विराटनगरमा आगामी माघ ११ गतेबाट बिराट एक्सपो २०२५ आयोजना हुने भएको छ।
उद्योग संगठन मोरङको आयोजनामा विराट एक्स्पोको आठौं संस्करण विराटनगर–१४ स्थित डिग्री क्याम्पसको मैदानमा आगामी माघ ११ गतेदेखि माघ २० गतेसम्म सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ।
सबैभन्दा पहिला २०५३ सालमा संगठनले कोशी महोत्सवको नामबाट एक्स्पोको आयोजना गरेको थियो। २०८१ सालमा विराट एक्स्पोको आठौं संस्करणसम्म आईपुग्दा यो एक्स्पो नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय स्तरको थोरै औद्योगिक एक्स्पो मध्ये छुट्टै पहिचान र ब्राण्डको रुपमा स्थापित हुन् सफल भएको आयोजकको दाबी छ। उद्योग संगठन मोरङले भव्य रूपमा विराट एक्स्पोको आयोजना गर्न उपाध्यक्ष भोलेश्वर दुलाल ९भोला० लाई संयोजक र कार्यकारिणी समितिका सदस्य पारस लुनियालाई सहसंयोजकको जिम्मेवारी दिइएको छ।
३ करोड रुपैयाँको लागतमा आयोजना हुने उक्त अन्तर्राष्ट्रिय स्तरको विराट एक्स्पोमा ९ वटा पेभिलियन अन्तर्गत २ सय ६८ वटा स्टल रहने उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले जानकारी दिए। नेपाल, भारत, पाकिस्तान र बंगलादेशका गरी विराट बजार बिटुबीका १२ स्टल, स्टार्टअप भिजन कोशी ह्याकाथुनका १२ स्टल, रोजगार कोशीका १२ स्टल, व्यावसायिक सेवा प्रदायक, सूचना, शिक्षा तथा डिजिटल प्रविधिका ४० स्टल, अटोमोबाइल्सका २० स्टल, औद्योगिक तर्फ ७५ स्टल, औद्योगिक, कर्पोरेट, कृषि, पर्यटन तथा एसएमईजका ७५ स्टल, खाद्यका १० स्टल र प्रयोजकका १२ स्टल रहने अध्यक्ष सुरानाले बताए।
संगठनका उपाध्यक्ष एवं विराट एक्स्पोका संयोजक भोलेश्वर दुलालले २०७९ सालमा आयोजना गरिएको एक्स्पो भन्दा यस पटक आगन्तुकलाई थप सेवा सुविधा प्रदान गर्न लागिएको जानकारी गराए । यसभन्दा अघि पनि विराटनगर बाहिरबाट एक्स्पो घुम्न आउने सर्वसाधारणका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको थिए । यस वर्ष पनि निःशुल्क बस सेवा सञ्चालनलाई निरन्तरता दिने संयोजक दुलालले बताए।
बिहान १० बजेदेखि राती ८ बजेसम्म विराट एक्स्पो सञ्चालनमा रहनेछ। बिहान १० बजेदेखि ३ः३० बजेसम्म एक सय रुपैयाँ र ४ बजेदेखि राती ८ बजेसम्म दुई सय रुपैयाँ प्रवेश शुल्क कायम गरिएको आयोजकले जनाएको छ। यसैगरी एक्सपो साँझको समयमा सांस्कृतिक कार्यक्रम आयोजना गरिने र बाहिरबाट ल्याइने कलाकारलाई मोटो रकम तिर्नुपर्ने भएकोले ४ बजेदेखि लागु हुने गरी टिकट दरमा वृद्धि गरिएको दुलालले बताए।
विराट एक्स्पो २०२५ को सम्पूर्ण आन्तरिक तयारी पुरा भइसकेको र फिल्ड निर्माणको काम सुरु भएको जानकारी दिदै विराट एक्स्पोको अवधिमा प्रत्येक दिन साँझ राष्ट्रिय रूपमा ख्याति प्राप्त पूर्ण राई, एकदेव लिम्बु, लाहुरे, मंकी टेम्पल, जेम्सी, सौरभ भट्टराई, शैलेश निरौला, अस्मिता अधिकारी, मिस्टर डि, हुमन आचार्य, स्वप्न सुमन तृष्णा गुरुङ, रक हेडसलगायतको प्रस्तुति रहने समेत बताए।