धरान, कोशी प्रदेश प्रिमियर लिग-२०८१ को विजेता गाईघाट बनेको छ।
आज(बिहीबार) धरान रगशालामा भएको खेलमा पाँचथरलाई ११–० को फराकिलो अन्तरले पराजित गर्दै विजेता बनेको हो।
विजेता बनेसँगै गाईघाट राष्ट्रिय लिगको छनौट प्रतियोगिताको रुपमा रहेको अन्तर प्रदेश लिगमा छनौट भएको छ। त्यस्तै प्रदेश लिगमा दोस्रो स्थानमा रहदै घनकुटाको देउराली युथ क्लब पनि अन्तर प्रदेश लिगमा छनौट भएको छ।
कोशी प्रदेशका ११ जिल्लाका जिल्ला लिग च्याम्पियन क्लबहरु सम्मिलित कोशी प्रदेश प्रिमियर लिगमा ११ जिल्लालाई ४ समुहमा विभाजित गरी समुह चरण र फाइनल चरण गरी खेलाइएको लिगमा उदयपुरको गाईघाट फुटबल क्लब लिग च्याम्पियन बन्न सफल भएको हो।
फाइनल चरणमा सात अक प्राप्त गरेको गाईघाट लिग च्याम्पियन हुदा धनकुटाको देउराली युथ क्लब ४ अक सहित दोस्रो तथा समान ४ अक भएपनि गोल अन्तरको खोटाङको बुइपा–११ तेस्रो स्थानमा रहन बाध्य भयो।
धनकुटाको गोल अन्तर ५ रहेको छ भने बुइपाको गोल अन्तर शुन्य रहेको छ। त्यस्तै पाँचथर युनाइटेड क्लब १ अक सहित चौथो स्थानमा रहन सफल भयो।
उपाधीसँगै गाईघाटले नगद २ लाख पुरस्कार प्राप्त गरेको छ। त्यस्तै दोस्रो भएको देउरालीले १ लाख ५० हजार, तेस्रो भएको बुइपाले १ लाख २५ हजार र चौथो भएको पाँचथरले १ लाख पुरस्कार प्राप्त गरेको छ।
गाईघाटका क्याप्टेन युवराज प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित
गाईघाट फुटबल क्लबका क्याप्टेन युवराज थापा प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए।
उनलाई नगद ५० हजार पुरस्कार प्रदान गरिएको थियो। प्रतियोगिताको उत्कृष्ट गोल किपर गाईघाटकै निम छिरिङ लामा घोषित भए। उत्कृष्ट स्ट्राइकर गाईघाटकै प्रविन राई, उत्कृष्ट कोच गाईघाटका किरण कुमार कार्की घोषित भए।
त्यस्तै गरी उत्कृष्ट डिफेन्स बुइपाका रामशुर राई घोषित भए भने बेष्ट मिडफिल्डर देउरालीका विपिन लिम्बू घोषित भए। उनीहरुलाई जनही १५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो।