धरान, याक्थुङ चलचित्रकर्मी संघले गत वर्ष देखि सुरु गरेको याक्थुङ सिने अवार्डको दोस्रो संस्करण वृत्तचित्र र याक्थुङ म्युजिक भिडियोलाई समेट्दै आगामी मंसिरमा आयोजना गरिने भएको छ।
दोस्रो संस्करणका रुपमा हुने ‘याक्थुङ सिने अवार्ड–२०८२’ मंसिरमा आयोजना गरिने शनिबार धरानमा सम्पन्न संघको कार्य समिति बैठकले निर्णय गरेको आयोजक याक्थुङ चलचित्रकर्मी संघका केन्द्रिय अध्यक्ष मेन्याङ्बोले बताएका छन्।
मंसिरमा हुने अवार्डको लागि असोज र कार्तिक महिनामा नोमिनेशनको समय तोकिएको अध्यक्ष मेन्याङ्बोले बताए।
पहिलो संस्करणमा बि.सं.२०८०÷८१ साल भित्र निर्माण भएका विशुद्ध लिम्बु कथा र लिम्बु चलचित्रकर्मीहरुले निर्माण गरको लघु चलचित्र र फिचर चलचित्रलाई अवार्ड प्रदान गरिएको थियो।
धरान स्थीत बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडिटेरियम हलमा लालिगुँरास नगरपालिका तेह्रथुमका मेयर अर्जुनबाबु मावोहाङको प्रमुख आतिथ्यमा सम्पन्न पहिलो संस्करणमा बरिष्ठ कलाकार प्रेम सुब्बालाई ‘सोदुङ्ना लेप्मुहाइं अवार्ड’ र मीना हुक्पा चोङबाङलाई ‘तिगेन्जङना अवार्ड’द्वारा सम्मान गरिएको थियो।
याक्थुङ लिम्बुहरुको सँस्कार, रिती रिवाजलाई प्रमुख विषय बनाएर निर्माण भएको लिम्बु चलचित्र ‘चे’ सर्बोत्कृष्ट फिचर लिम्बु चलचित्र र ‘खोक्पो’ ले सर्बोत्कृष्ट लघु चलचित्रको अवार्ड पाएको थियो।
यसैगरी चलचित्र तर्फ सर्बोत्कृष्ट सोसल अवार्ड ‘सुगुप’ चलचित्र, सर्बोत्कृष्ट निर्देशक दिनेश माङ्मुले, सर्बोत्कृष्ट नायक किशोर सम्बाहाम्फे, सर्बोत्कृष्ट नायिका बिमला खजुमले, सर्बोत्कृष्ट नव नायक राज श्रेष्ठ, सर्बोत्कृष्ट नव नायिका निसाम तुम्बापो, सर्बोत्कृष्ट चरित्र अभिनेता सिडी बेघा, सर्बोत्कृष्ट चरित्र अभिनेत्री डम्बरकुमारी पयाङ्बो घोषित बन्दै अवार्ड पाएका थिए।
यसैगरी लघु चलचित्र तर्फ उत्कृष्ट सोसल अवार्ड लघु चलचित्र ‘खोक्पा’, उत्कृष्ट निर्देशक प्रकाश लिम्बु, उत्कृष्ट नायक तीरज लिम्बु, उत्कृष्ट नायिका बिमला थोक्लिहाङ, उत्कृष्ट चरित्र अभिनेता कर्ण सम्बाहाम्फे, उत्कृष्ट चरित्र अभिनेत्री मीना हुक्पा चोङबाङ घोषित हुदै अवार्ड पाएका थिए।
अवार्ड छनौट समितिमा कबि, लेखक, निर्देशक उपेन्द्र सुब्बा, कलाकार, मुन्धुम बिद याशेली योङहाङ, कलाकार, निर्माता तथा याक्थुङ चलचित्रकर्मी संघका केन्द्रिय अध्यक्ष नबिन मेन्याङ्बो रहेका थिए।