धरान, स्थानीय कृषि उत्पादन, उद्योग र पर्यटनको विकासमा योगदान पुर्याउने उद्देश्यले धरानमा भोलि (पौष २५ गते) देखि १० दिने “धरान एक्स्पो–२०८१” सुरु हुने भएको छ।
सुनसरी उद्योग वाणिज्य संघद्वारा धरान १६ स्थीत रंगशालामा आयोजना हुने एक्स्पोको सम्पुर्ण तयारी भईसकेको जानकारी आज धरान १ स्थीत संघको भवनमा पत्रकार सम्मेलन गरी जनाकारी गराएको छ।
भोलिबाट सुरु हुने एक्स्पोको उदघाटन उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहद्वारा हुने भएको छ। उक्त उद्धघाटन कार्यक्रमको शुभारम्भ प्याराग्लाइडिङबाट पुष्पबृष्टि गरि हुने समेत आयोजकले जनाएका छन्।
प्रदेश १ सरकार र धरान उपमहानगरपालिकाको सहकार्यमा २५ देखि माघ ५ गते सम्म आयोजना हुने १० दिने “धरान एक्स्पो–२०८१”ले स्थानीय कृषि, उद्योग, र पर्यटनलाई प्रवर्द्धन गर्दै धरानलाई क्षेत्रीय व्यापारिक केन्द्रको रूपमा स्थापित गर्न सहयोग गर्ने संघका अध्यक्ष विजय श्रेष्ठले बताए।
एक्स्पोमा नेपालसँगै भारत, बंगलादेशलगायतका एक सय ५० वटा स्टलमार्फत आफ्नो उत्पादन, बिक्री, सेवा, प्रदर्शनी हुनेछ। यसैगरी मनोरञ्जनका लागि बाल उद्यान, रोटेपिङ, नाउ लगायत खेलतमासा राखिने, प्रत्येक साँझ राष्ट्रिय, स्थानीय कलाकारहरु मार्फत साङ्गीतिक मनोरञ्जन कार्यक्रम आयोजना गरिने भएको छ।