धरान, लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड २५ औ अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो पटक फाइनलमा पुगेको छ।
धरान रंगशलामा आज भएको पहिलो सेमिफाइनल खेलमा पाहुना टोली भुटानको आरटिसी फुटबल क्लब (रोयल थिम्पु कलेज)लाई ७–० गोलको फराकिलो अन्तरले पराजित गर्दै चर्च ब्वाइज पहिलो पटक उपाधि नजिक पुगेको हो।
चर्च ब्वाइजका समिर तामाङ र विदेशी खेलाडी आरमोण्ड भिदोङले खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै ह्याट्रिक पूरा गरे। समिरले खेलको २१ औ, ५६ औ, र ८५ औ मिनेटमा ह्याट्रिक पूरा गर्दा आरमोण्डले खेलको २७ औ , ५० औ र ५२ औ मिनेटमा ह्याट्रिक पुरा गरे।
आरमोण्डले दुई गोल दुई मिनेटको फरकमा गर्न भ्याए। ह्याट्रिक पूरा गरेका चर्च ब्वाइजका समिर तामाङ खेलको म्यान अफ दि म्याच घोषित भए । उनले नगद १० हजार नगद पाए।
यस्तै, खेलको पहिलो हाफको २९ औ मिनेटमा चर्च ब्वाइजका लागि पदम भटराईले व्याक्तिगत एक गोल गरे। उनले गोल लाइनबाट आरटिसीका डिफेन्डरले क्लियर गरेको बललाई हेडिङ मार्फत जाली चुमाउदा चर्च ब्वाइजले पहिलो हाफमा तीन गोलको अग्रता बनायो।
दर्शकको राम्रो साथ पाएको चर्च ब्वाइजले खेल अवधिभर आरटिसीलाई दबाबमा राखेको थियो। फितलो खेल प्रदर्शन गरेको आरटिसीले भने खेल अवधिभर कुनै पनि गोल फर्काउन सकेन। खेलको १९ औ मिनेटमा नयन्द योसेलले वान भुर्सेस वानमा गोल गर्न चुके।
खेल अवधिभर आरटिसीले गोल गर्ने राम्रो अवसर समेत सिर्जन गर्न नसक्दा फराकिलो गोल अन्तरले हार समेत ब्याहोर्नु बाध्य भयो। उपाधिका लागि चर्च ब्वाइजले अब साबिक बिजेता न्यूरोड टिम (एनआरटी) र पाहुना टोली भारतको यूकेएफसीबिचको बिजेता टोलीसँग भिड्ने छ।
चर्च ब्वाइजले बिभागीय टिम नेपाल पुलिस क्लबलाई १–० गोलले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो। सन्तोष खत्रीको निर्णयक गोलले चर्च ब्वाइज सेमिफाइनल प्रबेश गरेको थियो।
यता, आरटिसीले राष्ट्रिय जागृती क्लब इटहरीलाई ४–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो।
बिहीवारको अन्तिम सेमिफाइनल खेल चर्च बोइज युनाइटेड र पाहुना टोली भुटानको आरटिसी फुटबल क्लब (रोयल थिम्पु कलेज)बिच फाइनल यात्राका लागि प्रतिस्पर्धा हुनेछ।
माघ २६ गतेसम्म सन्चालन हुने प्रतियोगितामा दुई बिदेशी टिमसहित ८ वटा टिम सहभागि थिए। विजेताले ट्रफीसहित नगद १० लाख र उपविजेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक धरान फुटबल क्लबले जनाएको छ।