धरान, धरानमा जारी २५औं संस्करणको टेष्टी टेष्टी गोधुली रनिङ कप अन्तर वडा स्तरिय फुटबल प्रतियोगितामा १५ नं. वडासँग टाइब्रेकरमा पराजित हुँदै गत बर्षको बिजेता १३ नं. वडा प्रतियोगिताबाट बाहिरिएको छ।
बिहीाबर साँझ धरान रंगशालामा भएको पहिलो क्वाटरफाइनल खेलमा १५ न वडासँग टाइब्रेकरमा ५-४ गोल अन्तरले पराजित बन्दै १३ न वडा प्रतियोगिताबाट बाहिरिएको हो।
निर्धारित समयको खेल गोररहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा १५ नं. वडाका असित मगर, मदन लाबुङ, आसुतोष राई, नगेन राई र प्रविण लिम्बूले गोल गरेका थिए।
यता १३ नं. वडाका इक्साहाङ लिम्बू, अविनास राई, सुशान्त राई र मिलन घिमिरेले गोल गरे भने क्याप्टेन निश्चल श्रेष्ठले गोल गर्न सकेनन्। टिम क्याप्टेन श्रेष्ठको प्रहार १५ नं. वडाका गोलकिपर प्रविण लिम्बूले रोकिदिएका थिए। खेलको अधिकांश समय १५ नं. वडाले १३ नं. वडामाथी दबाबमा राखेपनि गोल भने गर्न सकेनन्।
खेलको म्यान अफ द म्याच १५ नं. वडाका गोलकिपर प्रविण लिम्बू घोषित भए। उनलाई माउण्ट एभरेष्ट ट्रेनिङ सेन्टरकार सञ्चालक कुमार तामाङले नगद २ हजार पुरस्कार वितरण गरेका थिए।
चैत्र २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा धरानका १८ वटा वडा सहभागी छन्। प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उप विजेताले ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने प्रतियोगिताको क्वाटर फाइलनमा पुगेको टिमले स्व. सुवास राई स्मृति सुपर ८ प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गर्ने आयोजक गोधुली क्लबले जनाएको छ।