धरान, चलचित्र पत्रकार संघ नेपालको चितावन भेलाले १३ बुँदे घोषणा पत्र जारी गरेको छ।
संघका केन्द्रीय अध्यक्ष समीर बलामीको अध्यक्षता, पूर्वअध्यक्ष एवं सल्लाहकारद्वय विदुर गिरी र शान्तिप्रियको आतिथ्यमा शुक्रबार नारायणगढ चितावनमा शुक्रबार सुरु भई आइतबार सम्पन्न संघको केन्द्रिय कार्यसमिति, प्रदेश, जिल्ला अध्यक्षहरु तथा पदाधिकारीहरुको भेलामा भएको पाँचौ पूर्ण बैठकले उक्त घोषणा पत्र जारी गरेको हो।
बैठकले फिल्म पत्रकारको हक र अधिकारको संरक्षणका लागि संघ गोलबद्ध भएर अघि बढ्ने निर्णय गरेको छ। यसले पत्रकारहरूको व्यावसायिक मान्यता र सुरक्षा सुनिश्चित गर्ने विश्वास बैठकको छ।
चलचित्र पत्रकारिता पेशामा जिम्मेवारी र प्रोत्साहन अभिवृद्धि गर्न संघले प्रदान गर्दै आएको विभिन्न चलचित्र पत्रकारिता सम्मान र पुरस्कारलाई व्यवस्थित गर्दै समुचित ढंगले प्रदान गर्न पुरस्कार र सम्मान कोषको स्थापना बैठकले गरेको छ। बैठकमा सहभागीहरूबाट रकम संकलन गरी कोष स्थापना गरिएको हो।
बैठकले फिल्म पत्रकार कल्याण कोष, फिल्म पत्रकार सुरक्षा कोष तथा पुरस्कार र सम्मान कोष अभिवृद्धि तथा स्थापनाका लागि विभिन्न सांस्कृतिक, सांगीतिक तथा च्यारिटी कार्यक्रम गर्ने निर्णय पनि गरेको छ। त्यसैगरी विधागत पत्रकारितामा देखिएका विभिन्न समस्या, चुनौती र सम्भावनालाई मध्यनजर गर्दै पछिल्लो समय फिल्म पत्रकारितामा देखिएका विकृति र विसंगतिलाई हटाउँदै मर्यादित र जिम्मेवार रूपमा व्यवसायिक पत्रकारिता गर्न बैठकले आग्रह गरेको छ।
पूर्ण बैठकपश्चात् संघका सल्लाहकार डब्बु क्षेत्री, केन्द्रीय उपाध्यक्ष सुरक्षा भट्टराई, चितवन शाखाका अध्यक्ष गोविन्द अर्याल र सचिव रविन सुवेदी तथा पर्सा शाखाका सचिव सूर्यनारायण विकको घोषणापत्र तयारी समितिले तयार पारेको घोषणापत्रमा चलचित्र पत्रकारका लागि कार्यशाला, गोष्ठी, अध्ययन भ्रमण र तालिमको व्यवस्थापनका लागि सम्बन्धित पक्षस“ग माग गरेको छ।
त्यसै गरी विट पत्रकारिताको समस्या सम्बोधन गरी यसको संरक्षण र प्रवद्र्धनका लागि विशेष योजना बनाई कार्यान्वयन गर्न, अनलाइन पत्रिका तथा बिट पत्रकारितालाई पनि लोक कल्याणकारी विज्ञापनमा समेट्न, फिल्म पत्रकारिता मात्रै गर्ने स्वरोजगारमूलक मिडियालाई चलचित्र विकास बोर्डले समन्वय र सहकार्य गरी संरक्षण गर्न, श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन गर्न, रियल टाइम बक्स अफिसलाई पूर्णरूपमा कार्यान्वयन गर्न तथा बक्स अफिस रिपोर्टलाई सूचनाको हकअनुसार सार्वजनिक गर्न बैठकले माग गरेको छ।
बैठकले चलचित्र पत्रकार संघ नेपाललाई हरेक आर्थिक वर्षमा सहुलियत अनुदान रकममा वृद्धि गर्दै उपलब्ध गराउन सञ्चार मन्त्रालयसहित केन्द्रीय, प्रदेश तथा स्थानीय सरकार र सम्बन्धित पक्षसँग माग गरेको छ।
घोषणापत्रमा स्वायत्त चलचित्र उद्योग तथा नेपाली चलचित्रको विकास र प्रवद्र्धनका लागि २०२६ सालको ऐनलाई प्रतिस्थापन गर्न बनेको प्रस्तावित फिल्म ऐन सबै स्टेकहोल्डरलाई प्रभावकारी हुनेगरी तत्काल ल्याउन, नेपाली चलचित्रको माध्यमबाट पर्यटन प्रवद्र्धनका लागि प्रभावकारी कार्यक्रम तय गर्न, चितवनको विभिन्न पर्यटकीय क्षेत्र सुन्दर नगरीको प्रवद्र्धनका लागि नेपाली सिनेमामार्फत प्रस्तुत गर्न तिनै तहका सरकारले सिनेमा पर्यटनका कार्यक्रमलाई अगाडि सार्न माग गरिएको छ।
यसैगरी उक्त भेला बीच शनिबार दिउँसो चलचित्र पत्रकार संघ चितावन शाखाको आयोजनामा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीसँग चलचित्र बजार र चलचित्र पत्रकारको सम्बन्ध विषयक अन्तरक्रिया गरेको छ।
संघको चितवन शाखाका अध्यक्ष गोविन्द अर्यालको अध्यक्षतामा सम्पन्न अन्र्तक्रियामा केन्द्रिय समिति, सल्लाहकारहरु, प्रदेश र शाखाका पदाधिकारीका साथमा स्थानीय पत्रकार र हल व्यवसायीको सहभागिता अन्तरक्रिया भएको हो। अन्तरक्रियाको क्रममा चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डिसीले नेपाली चलचित्र उद्योगको बिकासको लागि अहोरात्र लागिरहेको बताए।
अध्यक्ष डिसीले आफनो कार्यकालमा चलचित्र नीति बनाउने, चलचित्र छायांकन स्टुडियो निर्माण गर्ने र रियल टाईम बक्स अफिस लागु गर्ने तीन मुख्य कार्य गरेरै छाड्ने बताएका हुन्।ती कार्यसँगै आफनो कार्यकालमा चलचित्र क्षेत्रका निर्माता, निर्देशक, कलाकार, प्राविधिकलगायत समग्र चलचित्र उद्योगको विकासको लागि आफनो हरेक समय खर्चिने बताए।
शनिबार भरतपुर स्थीत कमलनगरमा चलचित्र पत्रकार संघ भरतपुरले आयोजना गरेको संचारकर्मीहरुसँगको भेटघाट र अन्तरक्रिया कार्यक्रममा अध्यक्ष डिसीले आफनो हरेक समय बोर्डको लागि महत्वपूर्ण समय भएकाले बिदेश भ्रमणहरु समेत त्यागेर आफु लागि परेको जानकारी गराए।
उनले चलचित्रका निर्माता, निर्देशक, कलाकार, प्राविधिकहरुको क्षमता अभिवृद्धि गर्ने साथै चलचित्र हल संचालकहरुलाई नियमन गर्ने कार्य साथै राज्य र बोर्डबाट प्रदान हुने सेवा सुविधाबारे जानकारी प्रदान गर्ने कार्यहरु भईरहेको बताए।
उनले पदभार सम्हालेको दिन देखि हाल सम्म चलचित्र नीति लागु गर्न प्रस्तावित विधेयक संचार मन्त्रालय, अर्थ मन्त्रालय र बोर्डबाट गर्ने सम्पुर्ण तयारी पुरा गरि कानुन मन्त्रायलसम्म पुर्याई हाल पुनः संचार मन्त्रालयमा फिर्ता आएको, रियल टाईम बक्स अफिस लागु गर्न प्रविधि तथा भएका सिस्टमको समस्याहरुको गहन अध्ययन गरि बैशाख १ बाट लागु गर्ने तयारी भएको, बनेपास्थित निमार्णाधिन सुटिङ स्टुडियो बिबाद व्यवस्थापन गर्दै सिमाना यकिन गरि चारकिल्ला कायम गरि स्टुडियो निमार्णको लागि अर्थ मन्त्रालयबाट बहुवर्षिय ठेक्काको सहमति लिई टेन्डर आव्हान गर्ने चरणमा पुर्याएका छन्।
यसैगरी चलचित्र बिकास बोर्डलाई महिलामैत्री तथा अपांगमैत्री संरचना निर्माण गरिएको, बोर्डका सेवाग्राहीको लागि सम्पुर्ण ३२ वटै कामहरुको डिजिटल निवेदनबाट हुने प्रविधिको जडानको तयारी गरिएको, बाढी, पहिरो र डुबानबाट पीढित ६ चलचित्रकर्मीको परिवारलाई जनही ५० हजारको दरले तत्काल राहत प्रदान गरेको, तीस वर्ष भन्दा बढि नेपाली चलचित्र क्षेत्रमा निरन्तर योगदान पुर्याउने ७४ चलचित्रकर्मीलाई एकलाखको बिमा सहितको विशिष्ट चलचित्रकर्मीको परिचयपत्र प्रदान गरिएको छ।
भने चलचित्रकर्मीहरुको क्षमता अभिवृद्धि गर्नका लागि पब्लिक स्पिकिङ तालिम प्रदान गरिएको र हालमा चलचित्रमा अत्यावश्यक ड्रोन कार्यशाला संचालन भई रहेको बताउदै अध्यक्ष डिसीले हालमा चलचित्रकर्मीहरुलाई दक्ष तथा सबल बनाउने, प्रोत्साहन गर्ने र नेपाली चलचित्रलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउनका लागि विभिन्न गतिविधि गरिरहेको जानकारी गराए।